Logo

महँगिएको चार महिनापछि खाने तेलको मूल्य पुरानै कायम हुने, ३ हप्ताभित्रै मूल्य घटाउन उद्योगी सहमत

महँगिएको चार महिनापछि खाने तेलको मूल्य पुरानै कायम हुने, ३ हप्ताभित्रै मूल्य घटाउन उद्योगी सहमत



काठमाडौं । गत भदौदेखि लगातार वृद्धि भइरहेको खाने तेलको मूल्य पुरानै कायम गर्न उद्योगी सहमत भएका छन् । यससँगै खाने तेलको मूल्य चार महिनापछि पुरानै कायम हुने भएको छ । पछिल्लो समय खाने तेलको मूल्यमा भएको वृद्धिले सर्वसाधारण उपभोक्ताहरु मारमा परेका थिए । बजारमा खानेतेलको मूल्यमा कालोबजारी भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनसँगै उद्योगीलाई बोलाएर मूल्यवृद्धिको कारण मागेको थियो ।

उद्योगीहरुले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेसँगै नेपालमा तेलको मूल्य बढेको जानकारी दिएका थिए । कच्चापदार्थको मूल्य वृद्धि भएपनि मूल्यवृद्धिमा सोही तथ्यमात्रलाई पुष्टि गर्ने आधार नदेखिएपछि वाणिज्य विभागले विभिन्न समयमा अनुगमनसहित केही उद्योगीलाई कारबाहीसमेत गरेपछि अब भने खाने तेलको मूल्य पुरानै मूल्यमा फर्किने भएको हो ।

केहिदिनअघि उद्योगीहरुले नै अब खाने तेलको कच्चा पदार्थको मूल्य अन्तरराष्ट्रिय स्तरमा घटेकाले मूल्य घटाउन सहमत भएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार उद्योगीहरुसँग विभागले गरेको छलफलमा नै उद्योगीहरुले तेलको मूल्य घटाउने सहमति गरेका हुन् ।

अन्तरराष्ट्रिय स्तरमा खानेतेलको कच्चा पदार्थ भट्टमास र सुर्यमुखीको मूल्यमा एकाएक वृद्धिका कारण तेलको मूल्य बढिरहेको उद्योगीहरुको भनाई थियो । बजारमा खानेतेलको मूल्य ३ महिनामा ३० देखि ५० रुपैयाँसम्म वृद्धि हुँदा भट्टमासको तेलको मूल्य प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको थियो । यस्तै प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य पनि बढेर प्रतिलिटर २ सय ५० रुपैयाँसम्म पुगेको छ । यस्तै सुर्यमुखी तेलको मूल्य १ सय ७० देखि १ सय ७५ रुपैयाँसम्म रहेकोमा मूल्य बढेर २ सय २५ रुपैयाँसम्म पुगेको छ ।

यसरी मूल्यवृद्धि हुँदा उपभोक्ताले विभागमा गुनासो गरेपछि विभागले अनुगमन थालेको थियो । अनुगमनका क्रममा केही उद्योगीलाई कारबाहीसँगै उद्योगीलाई विभागमै बोलाई मूल्य बढ्नुको कारण सोधिएको थियो । व्यवसायीका अनुसार नेपालमा खाने तेलको कच्चापदार्थको प्रमुख स्रोत मुलुक ब्राजिलमा मजदुरहरुले हड्ताल गरेका कारण मूल्य आकाशिएको थियो । जसको फलस्वरुप नेपालमा तेलको मूल्य बढेको तर, हाल उक्त हड्तालको अन्त्य भएसँगै कच्चपदार्थको भाउ घटेको व्यवसायीको भनाई छ ।

उपभोक्ताको गुनसोपछि विभागले तेलको मूल्य घटाउन पहल गरेको विभागका महानिर्देशक सुवेदीले बिजखबरलाई जानकारी दिए । ‘हामीले उद्योगीहरुलाई विभागमै बोलाएर तेलको मूल्य अब घटाउनुपर्नेमा जोड दिएका थियौं,’ उनले भने, ‘हाल कच्चा पदार्थको मूल्य घटेकाले वहाँहरु पनि तेलको मूल्य घटाउन तयार हुनुभएको हो ।’

उनले अबको २० दिनपछि बजारमा पुरानै मूल्यमा खाने तेलको मूल्य कायम हुने दावी गरे । ‘अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य घट्दा त्यसको असर नेपालमा ३० दिनपछि पर्छ,’ उनले भने, ‘सोहीअनुसार उद्योगीहरुले मूल्य घटेको कच्चापदार्थ भित्र्याई त्यसैको तेल बजारमा वितरण गर्नुपर्ने भएकाले नेपालमा मूल्य घट्न पनि २०–३० दिन लाग्ने देखिन्छ ।’ करिव १० दिन अघिदेखि नै अन्तरराष्ट्रिय बजारमा भटमास र सुर्यमुखिको मूल्य घट्न सुरु गरेको छ । सोहीअनुसार नेपालमा मूल्य घटेको भटमास र तेलका लागि आवश्यक कच्चापदार्थ आयात सुरु भइसकेको छ ।

तर, बजारमा व्यवसायीले विभिन्न कारण देखाएपनि खानेतेलको मूल्य बढ्नुमा राजनीतिक खिचातानी पनि एक कारण रहेको विभागका एक अधिकारीले बताए । तर, यसकै कारण हो भनेर पुष्टि गर्न सकिने आधारहरु नभएकाले र उद्योगीहरुले पनि कच्चा पदार्थको मूल्य बढेको प्रमाण ल्याएपछि यस्तो भन्न नमिल्ने उनी बताउँछन् ।

फलामे डण्डीको मूल्य पनि घट्यो

विभागले विभिन्न पटक गरेको अनुगमन र कच्चा पदार्थको मूल्यमा आएको गिरावटसँगै नेपालमा फलामे डण्डीको मूल्य पनि घटेको छ । २ महिनाअघिदेखि मूल्य बढाएका स्टिल उद्योगीहरुले हिजोदेखि नै मूल्य घटाएको जानकारी विभागलाई दिएको प्रवक्ता शिवराज सेढाईले बताए । उनका अनुसार २ स्टिल कम्पनीले सोमबारमात्रै मूल्य घटाएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL