Logo

दोश्रो चरणको चक्रपथ विस्तार अझै अन्यौलमा : सरकारको कमजोरी कि, चिनियाँ पक्षको आनाकानी ?

दोश्रो चरणको चक्रपथ विस्तार अझै अन्यौलमा : सरकारको कमजोरी कि, चिनियाँ पक्षको आनाकानी ?



काठमाडौं । लामो समयदेखि रोकिएको चक्रपथको दोश्रो खण्ड बिस्तारको काम कहिले शुरु हुने भन्नेमा अझै अन्यौलता देखिएको छ । दुई बर्षअघि पहिलो खण्डको काम सम्पन्न गर्नैवित्तिकै दोस्रो खण्डको काम सुरु गर्ने निर्णय गरेको चिनियाँ पक्ष हालसम्म पनि सम्पर्कमा नआउँदा थप अन्यौलता बढेको सडक विभागको गुनासो छ ।

चक्रपथ विस्तारको पहिलो चरणमै विभिन्न आलोचना खेपेको चिनियाँ कम्पनीले दोस्रो चरणको विस्तारका लागि विभिन्न शर्त अघि सार्दै आनाकानी गरिरहेको जस्तो देखिएको विभागका अधिकारी बताउँछन् । पहिलो खण्डमा डिजाइनअनुसार काम भएपनि आलोचना खेपेको चिनियाँ पक्षले दोस्रो खण्ड अर्थात कलंकी–धोबीघाट क्षेत्रका लागि विभिन्न शर्तहरु तोकेको छ । सडकको साइट क्लियर भएपछि मात्रै डिजाईनसहित तिव्र रुपमा काम अघि बढाउने निर्णय दिएर चीन फर्केको चिनियाँ टोली अझै कहिले नेपाल आएर कामको टुंगो लगाउने निश्चित छैन ।

पहिलो खण्डअन्तर्गत कोटेश्वर–कलंकी सडकखण्ड २ बर्षअघि सम्पन्न भएलगगत्तै नेपाल सरकारले चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपसँग दोस्रो खण्डको पनि सडक विस्तार गर्नेगरी सम्झौता गरेको थियो । सम्झौताको समयमा चिनियाँ कम्पनीले साईट क्लियर गरेपछि मात्रै डिजाईन सम्पन्न गरी काम अघि बढाउने आश्वासन दिएको थियो ।

सरकारले साईट क्लियरका कामहरु अघि बढाएपनि अझै काम नसकिएको अवस्था छ । यसले पनि चिनियाँ टोली नेपाल आउन नचाहेको विभागका एक अधिकारीले बताए । तर, कोरोना सुरु हुनु अगावै नेपाल आएर डिजाईनको काम सम्पन्न गरी निर्माण कार्य नै अघि बढाउने प्रण गरेको चिनियाँ टोली कोरोनाका कारण आउन नसकेको बताउँदै आएको थियो । सडक विभागका एक अधिकारीका अनुसार कोरोनाको कारण देखाउँदै कोरोना कालमा चिनियाँ पक्षले विभागलाई आउन नसक्ने सूचनासमेत पठाएको थियो । तर, हाल कोरोना भाईरसको महामारी सामान्य भएपछि पनि चिनियाँ पक्ष नेपाल आउने टुंगो नलाग्दा शंकाको दृष्टिकोणले हेरिएको छ ।

अझै भएन साइट क्लियर

चिनियाँ पक्षले २ बर्षअघि नै साइट क्लियर गरेपछि काम अघि बढाउने भनेपनि सरकारले उक्त क्षेत्रको साइट क्लियरको काम तीव्र पारेको थियो । जसअनुसार हाल कलंकी देखि धोबीघाटसम्मको सडकको अधिकार क्षेत्रमा पर्ने विजुलीका पोल, रुख खानेपानीको पाईप, ढललगायत संरचना हटाइसकिएको छ । तर, महाराजगंज चोकमा रहेका केही घर हटाउन समय लागेकाले साइट क्लियर गर्न अप्ठ्यारो भएको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिए ।

उनका अनुसार उक्त खण्डको सडक अधिकारमा पर्ने घरटहरा हटाउनेगरी सार्वजनिक सूचना निकालिसकिएको छ । तर, मुआब्जा वितरण अझै हुन नसकेका कारण घरटहरा हटाउन केही समय लाग्ने देखिएको छ । तर, हाल साईट क्लियरको ९५ प्रतिशत बढी काम सकिएको उनको भनाई छ ।

चक्रपथको पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण शुरु भएको थियो । जसका कारण सडक निर्माण शुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन ।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर नै साइट क्लियरको कामपछि मात्रै सडक निर्माणको प्रक्रिया अघि बढाउने चिनियाँ पक्षको शर्त छ । उक्त सडकखण्ड निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । सडक विभाग स्रोतका अनुसार उक्त खण्डमा २ ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुनेगरी निर्माण गरिने प्रस्ताव गरिएको छ । सडक विस्तारका लागि सरकारले गत चैतमा नै हस्तान्तर गर्ने तालिका रहेपनि कोरोनाको कारण देखाउँदै साइट क्लियर नभएपछि चिनियाँ पक्ष नेपाल आउन मानेको थिएन । अझै न साइट क्लियर हुन सकेको छ न चिनियाँ पक्ष आउने टुंगो लागेको छ ।

चक्रपथ विस्तारको दोस्रो खण्डमा पनि कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने सडक विभागले जनाएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिन्हले मात्रै छुट्याइएकामा अब भने सडकमा डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने बताईएको छ ।
आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । चक्रपथ विस्तारको पहिलो खण्डमा सडक पार गर्न गाह्रो भएको भन्दै आयोजनाले अहिले ६ स्थानमा आकाशे पुलको निर्माण गरिरहेको छ । यो चरणमा भने एक एक किमी फरकमा आकाशे पुल बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL