Logo

कहिले आइपुग्छ नेपाललाई चीनले दिने ३ लाख डोज कोभिड-१९ विरूद्धको खोप ?

कहिले आइपुग्छ नेपाललाई चीनले दिने ३ लाख डोज कोभिड-१९ विरूद्धको खोप ?



काठमाडौं । उत्तरी छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको कोभिड– १९ विरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ । चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको हो ।

नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो । ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ प्रेस नोटमा भनिएको छ ।

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो  । दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ । चीनले दिएका खोप करिब एक लाख ५० हजार नागरिकलाई लगाउन पुग्नेछ ।

चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला चीनले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि दूतावासले उल्लेख गरेको छ । ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ,’ प्रेस नोटमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यकिन मिति तय नभएपनि दूतावासले छिट्टै उपलब्ध गराउने भनेकाले चीनले उपलब्ध गराउने खोप आगामी साताभित्रै नेपाल आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL