Logo

विकास बैंक र फाइनान्सलाई माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाउँदै राष्ट्र बैंकले काट्यो चिट्ठी, वाणिज्य बैंकलाई पनि चिट्ठी काट्दै

विकास बैंक र फाइनान्सलाई माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाउँदै राष्ट्र बैंकले काट्यो चिट्ठी, वाणिज्य बैंकलाई पनि चिट्ठी काट्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले माईक्रोफाईनान्स (लघुवित्त)को दोस्रो बजारमा लगानी गर्न विकास बैंक र फाइनान्स कम्पनीलाई रोक लगाएको छ । पछिल्लो समय विकास बैंक तथा माईक्रोफाइनान्सले आफ्नो उद्देश्यअनुरुप उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्नुभन्दा पनि बढ्दो सेयर बजारमा चलखेल गर्दै सेयर मूल्य उकास्न थालेको र जसका कारण सर्वसाधारण लगानीकर्ताहरु मारमा पर्ने निष्कर्षसहित राष्ट्र बैंकले चिठी काट्दै ख र ग बर्गका कम्पनीलाई माईक्रोफाईनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाएको हो ।

राष्ट्र बैंकले गतहप्ता नै विकास बैंक र फाइनान्स कम्पनीलाई माइक्रोफाइनान्सको दोस्रो बजारमा गरिने लगानीमा रोक लगाउँदै चिठी काटेर सम्बन्धित कम्पनीलाई पठाईसकेको छ । साथै वाणिज्य बैंकहरुलाई पनि माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाउन निर्देशन दिने तयारी गरिएको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

‘राष्ट्र बैंकको कन्र्सन सेयर बजार कति बढ्यो भन्दापनि बैंक तथा वित्तीय संस्थाले चलखेल गर्दा सर्वसाधारण लगानीकर्ता नफसुन भन्ने हो,’ उक्त स्रोतले भन्यो, ‘बैंक तथा वित्तीय संस्थालाई पनि आफ्नो नियमनभित्र राख्दै सर्वासाधारण लगानीकर्ता पनि नफसुन भन्ने उद्देश्यले क, ख र ग गरी तिनै बर्गका बैंक तथा वित्तीय संस्थालाई माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाएका हौं ।’

केही दिनभित्रै वाणिज्य बैंकलाई पनि माईक्रोफाईनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाउँदै निर्देशन दिने उक्त स्रोतको भनाई छ । पछिल्लो समय दोस्रो बजारमा बैंक तथा वित्तीय संस्थाले नै बढी लगानी गरेर चलखेल गरेको गुनासो आएपछि राष्ट्र बैंकले कडाई गर्दै उक्त कदम चालेको हो । हाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कुन–कुन कम्पनीको सेयरमा के कति लगानी गरेका छन् अध्ययनका लागि भन्दै त्यसको विस्तृत विवरण सम्बद्ध संस्थासँग माग गरेको छ ।

बैंक तथा वित्तीय संस्थालाई माईक्रोफाइनान्सको दोस्रो बजारमा रोक लगाएपनि संस्थापक सेयर लगानी गर्न भने खुला नै छाडिने भएको छ । हाल बैंक तथा वित्तीय संस्थाले कुनै पनि माईक्रोफाइनान्सको संस्थापक सेयरमा १० प्रतिशत होल्ड (लगानी) गर्न सक्छन् । तर, माईक्रोफाइनान्सको बैंक तथा वित्तीय संस्थाको लगानी संस्थापक हो वा पछि खरिद गरेको हो त्यसको आधारमा लगानी गर्ने सीमा खुला गरिनेसमेत राष्ट्र बैंकले स्रोतले जानकारी दिएको छ । ‘यदि कुनै बैंकले माईक्रोफाइनान्स कम्पनी खोल्दा नै बढी प्रतिशत लगानी गरेर संस्थापक सेयरहोल्डर बसेको रहेछ भने त्यसमा लगानी सीमा बढी नै छाड्न सकिन्छ,’ उक्त स्रोतले भन्यो, ‘तर पछि संस्थापक सेयर खरिद गरेर आफ्नो होल्ड बढाएका रहेछन् भने १० प्रतिशतको सीमा भित्र राखिने छ ।’

हाल वाणिज्य बैंकले आफ्नो कुल पूँजी कोषको ५ प्रतिशत रकम सेयरको दोस्रो बजारमा लगानी गर्न पाउँछन् । यसरी एउटा वाणिज्य बैंकले ४० देखि ५० करोड रुपैयाँ सेयर बजारमा लगानी गर्न सक्छन् । तर, हाल एउटै बैंकले सेयरको दोस्रो बजारमा १ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गर्दै आएका छन् ।

बढ््दो सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले बढी लगानी गर्दा भोलिका दिनमा बजार क्र्यास भएको खण्डमा सम्बन्धित बैंकहरुपनि फस्ने सम्भावना उच्च रहेको र त्यसले बैंकिङ प्रणाली नै थप जोमिखमा पर्ने देखिन्छ । हाल संचालित प्रायःजसो लघुवित्तहरु बैंकहरुबाटै प्रर्वद्र्धित भएकाले एक आपसमा सेयर खरिदबिक्री गरेर बजारमा चलखेल गर्ने गरेको सम्बद्ध स्रोतको भनाई छ ।

उदाहरणका लागि अहिले बजारमा क भन्ने बैंकबाट प्रवद्र्धित लघुवित्तको दोस्रो बजारमा ख भन्ने बैंकले सेयर किनेर मूल्य बढाईदिने अनि ख भन्ने बैंकको लगानी रहेको लघुवित्तमा क बैंकले दोस्रो बजारमा सेयर किनेर मूल्य बढाउँदै आएका छन । यसरी लगानी गर्दा बजार घट्दा बैंक आफै पनि समस्यामा पर्ने र त्यो पनि बढी असर सर्वसाधारण लगानीकर्ता मारमा पर्ने भएका कारण राष्ट्र बैंकले रोक लगाएको हो ।
पछिल्लो समय बैंकहरुले आपसी मिलेमतोमा दोस्रो बजारबाट एक अर्काको सेयर उठाउँदा बजारमा ड्राई आउट (बजारमा जति सेयर आउँछ सबै खरिद गरेर मूल्य बढाउने)को समस्या देखिन थालेको छ । हाल बैंकहरुबीच आपसी मिलेमतोका बजारमा जति सेयर आउँछ सबै उठाएर मूल्य बढाईरहने खेल सुरु भएको समेत सम्बद्ध लगानीबर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्