Logo

प्रधानमन्त्री ओलीद्वारा चितवनमा छ लेन सडक स्तरोन्नति र सिटी हलको शिलान्यास, २ अर्ब खर्च हुने

प्रधानमन्त्री ओलीद्वारा चितवनमा छ लेन सडक स्तरोन्नति र सिटी हलको शिलान्यास, २ अर्ब खर्च हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गरेका हुन् । उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरेका हुन् ।

सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले केहीबेरपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो । शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ । दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत असोज २६ गते भएको सम्झौता अनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ । सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ । डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिए । सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ । शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ ।

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ । त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिए । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरकफरक रहेको छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ ।

यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो । यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन् । बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन् । भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ । विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डसँगै यसलाई पनि स्तरोन्नति गर्न लागिएको हो । यस क्षेत्रको सडक साँघुरो हुँदा दुर्घटना हुने गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले शनिबार शिलान्यास गरेका हुन्।

शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराएका थिए। देशको मध्यभागमा रहेर पनि ठूलो सभासमारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण शुरु गरेको हो । सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो । सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ ।

शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गरेका थिए ।

कार्यक्रममा श्रीराम जानकी बालिका आश्रमका बालिकाले स्वस्तिवाचन गरेका थिए । सिटीहल निर्माणका लागि सङ्घीय सरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इन्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । जिल्ला समवन्य समिति पछाडि रहेको चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्यान्ड, बगैंचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।

उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउँछन् । उनले भने, “हालसम्म यति सुविधासम्पन्न र सुन्दर सिटीहल नेपालमा बनेको छैन ।” दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरी मङ्सिर १८ गते सम्झौता भएको हो । सम्झौता भएलगत्तै कामलाई तीव्रता दिइएको छ । हाल जमीनमुनिको काम भइरहेको छ । सिटीहल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिनेछ । देशको मध्यभागमा रहेको र सबै ठाउँबाट यातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भ्रातृ संस्था, विभिन्न सङ्घसंस्थालगायत कार्यक्रम गर्न यहाँ सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL