Logo

पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण पत्र-‘निर्माणकार्यको अन्तिम चरणमा आएर विरोध गर्नु अनुचित’

पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण पत्र-‘निर्माणकार्यको अन्तिम चरणमा आएर विरोध गर्नु अनुचित’



काठमाडौं । कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएका हुन् ।

कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको महानपालिकाको आरोप छ । त्यसैगरी काठमाडौं ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालिन संघीय सांसद गगन कुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका छन् ।

पोखरीको प्रस्तावित ढाँचा तयार गर्ने सन्दर्भमा कमलपोखरी क्षेत्रकै तत्कालिन सांसद थापासँग महानगरपालिकाले सहरी योजना आयोगको कार्यालय, अग्रवाल भवनलगायतका स्थानमा विभिन्न चरणमा छलफल गरेको थियो । थापाले छलफलका क्रममा संसद विकासकोष र नीजि बजेट समेतबाट पटक–पटक पोखरी पुनर्निमाणका लागि बजेट खर्च भएको बताए । उनले विभिन्न चरणका छलफलमा पछिल्लो समय कमलपोखरी अस्तव्यस्त बनेको, छठ सुरु भएपछि त्यसले केही पुर्नजिवन पाएको, सार्कका बेला आएको बजेटबाट तारबार गर्नेलगायतका काम गरेको पनि बताएका सहरी योजना आयोगले जानकारी दिएको छ ।

पोखरीको केही जमिन मिचिएको र मिचिएको जमिन पनि कृषि मन्त्रालयको मत्स्य पोखरीको रुपमा रहेको पनि उनले छलफलका क्रममा बताए । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि पुरातत्व विभागले महानगरपालिकासँग कुनै समन्वय नै नगरेको आरोप लगाए । पुर्नर्निमाणको लामो समयसम्म अनदेखा गरेर बसेको पुरातत्वले निर्माणकार्यको अन्तिम चरणमा आएर गरेको कार्य उचित नभएको बताए ।

उनले कमलपोखरी रानीपोखरीको जस्तो इतिहास नरहेको भन्दै लामो समयसम्म ढलको रुपमा रहेको कमल पोखरीलाई महानगरले सुन्दर पोखरी बनाउन लागेको बताए ‘रानीपोखरी ऐतिहासिक सम्पदा हो तर, कमल पोखरी ऐतिहासिक पोखरी हो,’ ज्ञवालीले भने, ‘सम्पदा संरक्षण र सम्बर्द्धन गर्ने कुरामा हाम्रो कुनै कमी रहँदैन । घाँसले भरिएको कमलपोखरीलाई व्यवस्थित गर्दै स्थानीयको समेत सहमतिमा पोखरी पुर्ननिमार्णको काममा महानगरपालिका अघि बढेको ।’

पुरातत्व जस्तो राज्यको निकायले समेत विकास निर्माणका कार्यमा असहयोग गर्न खोज्नु राम्रो नभएको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुखको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL