काठमाडौं । भारतीय कम्पनी एसजेभीएन ६७९ मेगावट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना बुल्ड अन अपरेट एण्ड ट्रान्सफर(बुट) मोडलमा विकासका लागि छनौट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६औं बैठकले उक्त निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरुको मूल्यांकन गरी सो निर्णय भएको हो । कूल क्षमता ६७९ मेगावाट रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ ।
२०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले उक्त परियोजना लगानीकर्ताहरु समक्ष प्रस्तुत गरेको थियो । त्यसैगरी उक्त बैठकले लगानी बोर्डमा विशेषज्ञ सदस्यको रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले विद्युतको उत्पादन सँग–सँगै खपतको समेत योजना बनाउनु पर्नेमा जोड दिँदै यसका लागि पूर्वाधार परियोजनाहरुलाई समय मै कार्यान्वयनका लागि समन्वयात्मक ढंगबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरे बमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बैंक वेबमा आधारित एकल विन्दु सेवा र नलेज म्यानेजमेन्ट पोर्टल (केएमपी) का बारेमा भइरहेको प्रगतिको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
उक्त बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप हादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको बोर्डका सहसचिव तथा प्रवक्ता धमेन्द्रकुमार मिश्रले जनाएका छन् ।