Logo

राजस्व कम उठेपछि रसुवागढी नाकाबाट आयातित सामग्रीको परिमाण बढाइदिन आग्रह

राजस्व कम उठेपछि रसुवागढी नाकाबाट आयातित सामग्रीको परिमाण बढाइदिन आग्रह



काठमाडौं । रसुवागढी नाकाबाट कारोवार हुने चिनियाँ माल सामग्रीको आयात परिमाण बढाइदिन आग्रह गरिएको छ । नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापारी व्यवसायीलाई परेको मर्का र राजस्वमा आएको कमीलाई ध्यान दिँदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टिनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण माल सामग्री आयातमा कमी आएको बताइएको छ । आयात बढाउने व्यवस्थापन मिलाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

कोभिड–१९ का कारण मानिसको आउजाउ पूर्णरूपले बन्द भए पनि गत असारदेखि दैनिक तीन कन्टेनर मात्र सामग्री आयात भइरहेको छ । कोरोनाको जोखिम अगाडि सामान लिन केरूङ गएका दर्जनौँ सवारी साधन चिनियाँ भूभागमै छाड्नुपर्दा यहाँका व्यवसायीलाई मर्का परेका बताइएको छ । चिनियाँ भूभागमा रोकिएका सवारी साधनको लगत तयारका प्रक्रियामा रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।

थोरै परिमाणमा आयात भएका सामग्रीमा तयारी कपडा, जुत्ता, चप्पल, रोलकपडा, ससाना सवारी साधन र विद्युत् उत्पादनका उपकरणजस्ता सामग्री रहेको भन्सार कार्यालय रसुवाका प्रवक्ता नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । चालु आवको साउनदेखि हालसम्म एक हजार २२३ मालबाहक कन्टेनर भन्सार हाताबाट बाहिरिएको र भन्सार शुल्कबापतको १ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ, ६४ हजार ३ सय ३४ रुपैयाँ राजस्व सङ्कलन भएकोे उनले बताए । गत वर्ष कोरोनाको समस्याबाहेक अन्य अवधिमा कूल ८अर्ब २७ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL