काठमाडौं । नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ । कांग्रेसले बिहीबार बीरगञ्जमा एक पत्रकार सम्मेलन आयोजना गर्दै ‘गरिखाने अभियान’ को घोषणा गरेको हो ।
नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजनासहित उक्त अभियान सुरु गरिएको उद्योगी चौधरीले जानकारी दिए । उनले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेका युवाहरुलाई अभियानमा समेट्ने बताए ।
‘हाम्रो सोच भनेको नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेका सबैलाई समेटेर लैजाने हो । अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं,’ उनले भने । उद्योगी चौधरीले गरीखाने अभियान प्रत्येक जिल्लामा चलाउने योजना रहेको बताए ।
‘गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउदैछौं । प्रदेश २ को वीरगञ्जमा पहिलो छलफल भयो । प्रत्येक जिल्लामा बनाउनुपर्छ भन्ने नै हाम्रो सोच हो,’ उनले भने, ‘उद्यम र व्यवसायको रुपमा सबैभन्दा अगाडि वीरगञ्ज छ, त्यहीँबाट हामीले अभियान सुरु गरेका छौं । यो अभियान एक किसिमको क्रान्ति पनि हो । हाम्रो सोचाइ भनेको राजनीतिका बीचमा पनि गरीखानेहरुको वर्चश्व हुनुपर्छ ।’