Logo

नेपालमा आजदेखि कोरोनाको खोप लगाइदैं, यस्ता छन् खोपसम्बन्धी जान्नैपर्ने १६ तथ्य

नेपालमा आजदेखि कोरोनाको खोप लगाइदैं, यस्ता छन् खोपसम्बन्धी जान्नैपर्ने १६ तथ्य



काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरु हुँदैछ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप मंगलबारदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई लगाउने सरकारको तयारी छ ।

बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन् । माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ । खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् । काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् ।

यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । उनले मंगलबार खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताए । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रूपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो । लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ ।

ककसले पाउँछन् ?

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

खोपसम्बन्धी जान्नैपर्ने १६ तथ्य

१. के मैले कोभिड–१९ अर्थात कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरुरी छ ?

यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ ।

साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ ।

२ .कति छिटो हामीले यो खोप पाउँछौं ?

सबै नेपालीलाई पुग्ने गरी खोपको परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकोले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमशः दिइनेछ । नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको हो। यो प्राथमिकिकरण विश्व स्वास्थ्य संगठनको सिफारिशको आधारमा पनि गरिएको हो ।

पहिलो प्राथमिकता मा हाम्रो जीवन र स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई राखिएको छ ।

कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि संक्रमित गराउने सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सबै स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएकोले पनि स्वास्थ्यकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको हो ।

उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, वृद्धाश्रममा कार्यरत कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई यसै प्राथमिकतामा राखिएको छ ।

दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा पुरुषहरूलाई राखिएको छ । यो उमेर समुहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ । साथै, ४०
देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ । दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप
लगाइने छ ।

तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ । १८ वर्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन ।

३. के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।

४. यो खोप कुन उमेर समूहलाई दिइन्छ ?

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।

५. यो खोप लिएपछि फेरी कोरोना संक्रमण हुन्छ ?

हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ ।

त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को ब्यक्तिसँग २ मिटर दुरी
कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ ।

६. यो खोप कहाँ लगाउन पाइन्छ ?

यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।

७. यो खोप कसले लगाउनु हुँदैैन ?

अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरूले लिनुहुँदैन् । साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहुँदैन् । यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।

८. के स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ ?

हुन्छ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ ।

९ . यो खोप कत्तिको सुरक्षित छ ?

सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो ।

१०. यो खोपको कति मात्र लगाउनुपर्छ ?

कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।

११. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन्?

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन ।

१२. के यो खोपको दीर्घकालिन असरहरू पनि छन् ?

कोभिड–१९ नयाँ खोप भएकोले यसका हुनसक्ने दीर्घकालिन असरहरूका वारेमा थप समयपछि मात्र थाहा हुन्छ । खुशिको कुरा, अनुमति प्राप्त सबै खोपहरू विभिन्न चरणको क्लिनिकल परीक्षणमा सुरक्षित पाइएको छ ।

१३. के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं ?

पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ । पहिलो मात्रा लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्ने ।

१४. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ?

खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।

१५. के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ पार्दैन ।

यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ ।

१६. खोप सेवाका वारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?

आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था वा आमसञ्चारका माध्यमहरू मार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ ।

यदि तपाई खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्