Logo

महासंघमा ९ सदस्यीय स्वास्थ्य तथा सीप समिति गठन, औद्योगिक विकास लागि सीपयुक्त जनशक्ति तयार पार्ने

महासंघमा ९ सदस्यीय स्वास्थ्य तथा सीप समिति गठन, औद्योगिक विकास लागि सीपयुक्त जनशक्ति तयार पार्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वास्थ्य तथा सीप विकास समिति गठन गरेको छ । महासंघले कार्यसमिति सदस्य हेमराज ढकालको नेतृत्वमा उक्त समिति गठन गरेको हो ।

यस अघि महासंघको कृषि उद्यम केन्द्रको सह सभापति भएर काम गरिसकेका ढकालको समापत्विमा गठित उक्त समितिमा महासंघकै केन्द्रिय सदस्य भक्तबहादूर हमाल सह सभापति रहेका छन् भने उपसभापतिमा लोकनाथ गैरे रहेका छन् ।

महासंघले ९ सदस्यीय उक्त समिति गठन गरेकोमा थप ७ जना आमन्त्रित सदस्य र ८ जना सल्लाकार समिति बनाएको छ । समितिको सदस्यहरुमा हेमराज बडाल, मृगेन्द्र मेहर श्रेष्ठ, सिताराम रेग्मी, रामेश्वर पराजुली, शंकर खड्का र राजेन्द्र बराल रहेका छन् ।

उक्त समिति गठनसँगै देशमा आवश्यक सीपयुक्त जनशक्ति विकासको लागि विभिन्न खालका तालिम गरिने भएको छ । अहिले नेपालबाट वार्षिक लाखौ अदक्ष कामदार रोजगारीको खोजीमा मलेसिया तथा खाडी मुलुकमा विदेशिन बाध्य भएका छन् भने नेपालको निर्माण क्षेत्रदेखि ज्वेलरी क्षेत्रका लागि आवश्यक कालीगढ समेतमा भारतीय कामदारमा भर पर्नु परेको छ ।

यस्तो अवस्थमा समितिले नेपाली युवालाई क्षेत्रगत रुपमा तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने काम गरिने समितिका सभापति हेमराज ढकालले बताए । ‘हाम्रो विकासको क्षेत्र ठूलो छ अहिलेपनि सरकारी र गैर सरकारी धेरै संस्थाले काम गरि रहेका छन सीप विकासको लागि सरकारी र दातृ संस्थाले ठूलो रकम खर्च गर्ने गरी लाखौलाई तालिम दिने गरेको छ तर निजी क्षेत्रले खोजेको जस्तो तालीम प्राप्त सीपयुक्त व्यक्ति पाउन नसकेको अवस्था छ,’ उनले भने, ‘अबका दिनमा सीप विकास सम्बन्धि काम गर्ने सबै सरकारी र गैर सरकारी संस्थाले प्रदान गर्ने तालीम कार्यक्रमहरु निजी क्षेत्रको आवश्यकतालाई ध्यानमा राखी संचालन हुनुका साथै महासंघको यस समितिले त्यस्ता संस्थाहरुसँग सहकार्यगरी नेपाली उद्योग कलकारखानाका लागि आवश्यक जनशक्ति विकास गर्न क्रियाशिल रहनेछ ।’

अबका दिनमा उद्योग र काम गर्न खोज्ने दुवैलाई सहयोग पुग्ने गरी सीपयुक्त जनशक्ति उत्पादनगर्नुपर्ने बताउँदै यसका लागि उद्योगसँगको सहकार्यमै तालिम संचालन गरिने बताए । ‘कामदारले देशमा कस्ता क्षेत्रमा रोजगारी पाउँछन् र निजी क्षेत्रलाई कस्ता खालका कामदार आवश्यकता छ सोही अनुरुप व्यवसायिक तालीम दिनु पर्छ,’ उनले भने, ‘यसको लागि समितिले नीतिगत सुधार, तालीमको गुणस्तर वृद्धि र तालीम प्राप्त जनशक्ती प्रयोग गर्नुपर्ने संस्थावीच समन्वय गरी भूमिका निर्वाह गर्नेछ ।’

साथै अबका दिनमा शिक्षा मन्त्रालयसँग अनुमति लिएर प्रादेशिक रुपमा तालिम दिएर महासंघ स्वयमले नै प्रमाणपत्र दिने गरी काम गरिने समेत ढकालले जानकारी दिए । ‘अहिले सीपविकास सम्बन्धी तालिकको प्रमाणपत्र सिटिईभिटिले मात्रै दिँदै आएको छ,’ उनले भने, ‘यस विषयमा सरकारसँग पहल गरेर महासंघले प्रदेश तथा जिल्ला गत रुपमा आवश्यक तालिम दिएर प्रमाणपत्र दिनका लागि पहल गर्नेछ ।’ उक्त समितिले शिक्षाक्षेत्रसँग पनि काम गर्ने भएकाले अबका दिनमा सरकारसँग सहकार्य गरे अहिलेको पाठ्यक्रमम नै परिमार्जन गरी व्यवसायीक सीप विकास गरी दक्ष जनशक्ति उत्पादन गर्ने खालको पठाई सुरु गर्न पहल गर्ने बताए ।

यसैगरी पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईसरका कारण उद्योग व्यवसायमा काम गर्ने श्रमिकका स्वास्थ्य जोमिख बढेको र स्वयम व्यवसायीनै त्यसको उच्च मारमा परेको बताउँदै महामारीको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसंग छलफल गरी अघि बढिने समेत उनले जानकारी दिए । साथै प्रतिष्ठान स्तरमा स्वास्थ्य सुरक्षा विषयमा के कस्ता कार्यक्रम गर्न सकिन्छ त्यसको लागि अन्तरराष्ट्रिय श्रम संगठन र अन्य दातृ संस्थासँग सहयोग र सहकार्य गर्न समेत समितिले पहल गर्ने भएको छ ।

उक्त समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले वैदेशिक रोजगारीमा लाखौ युवाहरु सीपविनानै गएका कारण कठिन खालका काम गर्न बाध्त्तय हुनुका साथै सोही अनुरुप पारिश्रमिक समेत कम पाएको भन्दै महासंघको नेतृत्वमा तालिम दिएर दक्ष कामदारलाई मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताए । अहिले पनि नेपालका कपाल काट्ने व्यवसायदेखि, ज्वेलरी तथा निर्माण क्षेत्रमा १० लाखभन्दा बढी विदेशी कामदारको रहेको बताँउँदै त्यस्ता क्षेत्रमा समेत नेपाली दक्ष कामदार तयार गरी प्रतिस्थापन गर्नुपर्ने बताए । ‘अहिले नेपालका कार्यरत भारत तथा चीनका कामदारले नेपालीको रोजगारी खोस्नुका साथै बार्षिक खर्बौ रुपैयाँ रेमिटान्स लगिरहेका छन्,’ उनले भने, ‘यसलाई मात्रै प्रतिस्थापन गर्न सकेको खण्डमा नेपालको पैसा विदेशिनबाट रोकिनुका साथै नेपालीले समेत काम पाउनेछन् ।’ साथै देशले अहिले कोरोना विरुद्धको भ्याक्सिन वितरणको तयारी थालेको जानकारी दिँदै यसका समेत महासंघले सहभागिता जनाएर देशमा सहज रुपमा उक्त भ्याक्सिनको व्यवस्था गरिनुपर्ने बताए ।

कार्यक्रममा महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ उक्त समितिको भुमिका ठूलो रहेको भन्दै समय समयमा बैंठक राखेर विभिन्न कार्यक्रमको तर्जुमा गर्नुपर्ने बताए । साथै एशोसिएट्सतर्फका उपाध्यक्ष रामचन्द्र संघईले अहिले पनि विदेशी दातृ निकायहरुले नेपाली कम्पनीहरुको सहकार्यमा नेपाली कामदारलाई तालिम दिँदै आएको जानकारी दिँदै अबका दिनमा यस्ता विषयमा समितिले अग्रता लिनुपर्ने बताए ।

उक्त समितिको केन्द्रिय सदस्यहरुमा आमन्त्रित सदस्यहरुमा नेपाल हस्तकला महासंघको उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उसन बज्राचार्य, काठमाडौं उद्योग वाणिज्य संघका कार्यसमिनि सदस्य सदिस श्रेष्ठ, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, कुवेर निरौला, केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन अफ नेपाल अध्यक्ष सुरेश घिमिरे र नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार अग्रवाल रहेका छन् ।

यसैगरी सल्लाहकारहरुमा महासंघकै घरेलु तथा साना उद्योग समितिका सभापति डीवि बस्नेत, स्थानीय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, उद्योग समितिका सभापति भरतराज आचार्य, कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, कार्यसमिति सदस्य सुमित केडिया र महासंघकै पूर्व कार्यसमिति सदस्यहरु कमला श्रेष्ठ, ई विनोद ढकाल, र रविन श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL