Logo

बैंककै मिलेमतोमा ‘फेक’ बैंक खाता खुल्ने क्रम बढ्यो : कालोधन शुद्धीकरणलाई प्रश्रय, छानविन गर्दै राष्ट्र बैंंक

बैंककै मिलेमतोमा ‘फेक’ बैंक खाता खुल्ने क्रम बढ्यो : कालोधन शुद्धीकरणलाई प्रश्रय, छानविन गर्दै राष्ट्र बैंंक



काठमाडौं । नियमनकारी निकायको फितलो नियमन तथा लाचारीपनका कारण नक्कली (एउटा व्यक्तिको नागरिकता र फोटोको आधारमा सम्बन्धित व्यक्तिलाई थाहै नदिई अर्के व्यक्तिले बैंक खाता खोल्ने) बैंक खाता खोल्ने क्रम बढेको छ ।

नियमित बैंक खाता खोल्न तथा सोको नो योर कस्टुमर (केवाईसी) अपडेटका लागि सम्बन्धित व्यक्ति बैंकमै उपस्थित हुनुपर्ने व्यवस्था रहेपनि बैंकहरुसँगको मिलेमतोमा सम्बन्धित व्यक्तिलाई थाहै नदिई बैंक खाता खोल्ने क्रम बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको फितलो नियमन तथा बैंकका कर्मचारीको मिलेमतोका कारण आईपीओको खेती गर्ने समुह तथा पहुँचवालाले नागरिकता र फोटोको भरमा सम्बन्धित व्यक्तिलाई थाहै नदिई आफुखुशी बैंक खाता खोलेर संचालन गर्दै आएको सम्बद्ध स्रोत बताउँछ । ‘विशेषगरी आईपीओको खेती गर्ने निश्चित समूह तथा केही ब्रोकरहरुले बैंकसँगको मिलेमतोमा नागरिकता र फोटोको आधारमा ठूलो मात्रामा बैंक खाता खोलेर संचालन गर्दै आएका छन्,’ उक्त स्रोतले भन्यो, ‘अहिले जसरी नियाकम निकायको वेवास्ताका कारण बैंकहरुले सीमित व्यक्तिहरुसँगको मिलेमतोमा सम्बन्धित व्यक्तिलाई थाहै नदिई बैंक खाता खोल्दै आएका छन् त्यसले आईपीओमा गलब व्यक्तिबाट आवेदनका साथै कालोधन (स्रोत नखुलेको रकम) शुद्धीकरणलाई प्रसय पाउनेछ ।’

भखैरै मात्रै सर्वसाधारणका लागि जारी भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)को सेयरमा साढे १५ लाख लगानीकर्ताले आवेदन दिएका थिए । तर त्ससमा पनि साढे ७ लाखभन्दा बढी आवेदन नक्कली बैंक खाता र डिम्याट खाताबाट भएको सम्बद्ध सरोकारवालाहरुको भनाई छ । पछिल्लो समय बढ्दो नक्कली बैंक खाता खुल्ने क्रमले गर्दा आईपीओमा आवेदन मात्र नभई कालोधन शुद्धीकरणले समेत प्रसय पाउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘पछिल्लो समय विश्वव्यापी रुपमा स्रोत नखुलेको रकम ट्रान्सफरको विषयमा धेरै कुरा उठेका छन्,’ एक अर्थविद्ले भने, ‘भोलिका दिनका गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्तिहरुले यस्तै खालका फेक खाताबाट स्रोत नुखलेका रकम भित्र्याउँछन् र त्यसको छानविन गर्न समेत कठिन हुनेछ ।’

सन् २०२१ मा सम्पत्ति शुद्धीकरणलाई निरुत्साहित गर्ने तथा त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले गठित फाईनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ) नेपालको सम्पत्ति शुद्धीकरण सम्बन्धी मूल्याङ्कन गर्दै छ । सन् २०२० को डिसेम्बरमा हुने भनिएको उक्त मूल्याङ्कन विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण नेपालकै अनुरोधका कारण १ बर्ष पछि धकेलिएको थियो । यदि उक्त मूल्याङ्कनको क्रममा नक्कली बैंक खाता खोलेर प्रयोग भएको पाइएमा नेपाललाई ठूलो धक्का लाग्ने समेत ती अर्थविद्को भनाई छ ।

यस्तै घटना केही समयअघि महाबौद्धमा चाईनिज लगानीकर्ताद्वारा खोलिएका पसलहरुमा समेत देखिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘तत्कालीन समयमा महाबौद्वलगायतका स्थानमा चाईनिजले पसल संचालनमा ल्याउँदा उनीहरुले नेपालमा लगानी गर्न पाउने भएकाले सीमित पैसा दिएर नेपालीको नागरिकता र फोटा लिएर नेपालीकै नाममा फर्म खोलेर पसल संचालन गर्दै आएका थिए,’ एक व्यापारीले भने, ‘चाईनिजले लामो समयसम्म नेपालीकै नामबाट व्यापार गर्यो राज्यलाई तिर्नुपर्ने कर नतिरेर, तर पछि सरकारले छानविन गर्दा करको दायित्व नागरिकता र फोटो प्रयोग भएका नेपालीमाथि थुपारियो ।’ साथै अहिले पनि नियामक निकायले समयमै सचेत भएर छानविन नगर्ने हो भने नक्कली बैंक खाता र डिक्याट खाता प्रकरणले पनि डरलाग्दो रुपमा लिने ती व्यापारीको भनाई थियो ।

पछिल्लो समय नक्कली बैंक खाता खुलेको विषयमा केही कुरा उठेको र अहिले छानविनको विषय बनाइएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । ‘अहिले थोरै समयमा धेरै बैंक खाता खुलेको कुरा आएको छ,’ उनले भने, ‘यो वास्तविक व्यक्तिहरु स्वयमनै उपस्थित भएर खोलेका हुन कि अरुले खोलिदिएका हुन् त्यस विषयमा समेत छानविन गर्नुपर्ने देखिएको छ ।

सम्बन्धित व्यक्तिलाई थाहै नदिई अर्को व्यक्ति नागरिकता, फोटो, ल्याप्चेको आधामार बैंक खाता खोल्नु तथा त्यस्ता खाता प्रयोगमा ल्याउनु गैरकानूनी कार्य भएको र छानविनको क्रमममा भेटिएका हँदै सम्मको कारबाही गरिने समेत शिवाकोटीले जानकराी दिए । ‘कुनै पनि नागरिकले आफ्नो स्वयम आफैले खाता खोलेर आईपीओ भर्ने तथा त्यस्ता खाता आफ्नो प्रयोजनमा ल्याउँछन् भने त्यो एकदमै राम्रो हो,’ उनले भने, ‘तर यदि कुनै व्यक्तिले अरुको नागरिकता र फोटा संकलन गरेर बैंक तथा डिम्याट खाता खोली आईपीओ भर्ने तथा अन्य प्रयोजनका लागि प्रयोग गर्छ भने त्यो गैरकानूनी क्रियाकलाप हो छानविनको क्रममा भेटिएका हदैसम्मको कारबाही गरिने छ ।’ साथै त्यसरी खाता खोलेर सेयर भेरेका रहेछन् भने त्यस्ता सेयर समेत जफत गरिने उनको भनाई थियो । ‘अहिले जुन हल्ला आएको र जुन रुपमा बैंक खाता खुलेका छन् पक्कै पनि यसमा गडबडी भएको छ भन्ने हाम्रो पनि निश्कर्ष हो,’ उनले भने, ‘तर यसो भन्दैमा वा अनुमानकै आधारमा सबै रोक्न भएन तर यस विषयमा छानविन गर्नु जरुरी छ ।’

यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि यस विषयमा छानविन गर्नु जरुरी देखिएको बताउँछन् । ‘यस विषयमा कहाँ कसले गलत कार्य गरिरहेको छ सो विषयमा सूचना पाएमा हामी तुरुन्तै कारबाही गर्नेछौं,’ उनले भने, ‘यस विषयमा हाम्रै कर्मचारीले पनि मिलेमतोमा सम्बन्धित व्यक्तिनै उपस्थित नभएको अवस्थमा बैंक खाता खोलिदिएको हुन सक्छन् यसमा समेत छानविन गर्नेछौं ।’ साथै यस विषयमा थप सजह भएर बैंक खाता खोल्न तथा छानविन गर्न बैंकर्स संघ आवद्ध बैंकहरुलाई समेत आग्रह गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL