Logo

उद्योगी व्यवसायीले मागे राहत प्याकेज, बन्दको क्षतिको सम्बोधनका लागि गृहकार्य भइरहेको उद्योगमन्त्रीको भनाई

उद्योगी व्यवसायीले मागे राहत प्याकेज, बन्दको क्षतिको सम्बोधनका लागि गृहकार्य भइरहेको उद्योगमन्त्रीको भनाई


बिजखबर संवाददाता
0
Shares

उद्योगी व्यवसायीले करीब तीन महिनादेखिको तराई मधेश बन्द र नाकाबन्दीबाट भएको क्षतिको उचित सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको टोलिले शुक्रवार उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई भेटि उचित क्षतिपूर्ती दिन माग गरेका हुन् ।
महासंघ अध्यक्ष मुरारकाले बन्द र नाकाबन्दीबाट प्रभावित उद्योग व्यवसायलाई तत्काल राहत प्याकेज दिन माग गरे । उनले करीब तीन महिनादेखि जारी तराई मधेश आन्दोलन तथा प्रमुख भंसार नाकामा अवरोधका कारण उद्योग व्यवसाय चौपट भएको बताए । उनले उद्योग व्यवसाय क्षेत्रले दैनिक करीब २ अर्व रुपैयाँ वरावरको आर्थिक नोक्सानी व्यहोर्दै आएको जानकारी गराउँदै यस्तो असहज अवस्था तत्काल अन्त्य गर्न आग्रह गरे । मुरारकाले उद्योग र अर्थमन्त्रालयले समन्वय गरी बन्द र नाकाबन्दीबाट प्रभावित उद्योग व्यवसायलाई राहत प्याकेज दिन माग समेत गरे ।
जवाफमा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बन्द तथा नाकाबन्दीबाट उद्योग व्यवसायमा भएको क्षतिको उचित सम्बोधन हुने बताए । उनले गृहकार्य गरेर क्षतिको सम्बोधन गरिने आश्वसन दिए । ‘अहिलेको असहज अवस्थाबाट उद्योग व्यवसाय क्षेत्र सहित मुलुकको अर्थतन्त्रनै गम्भीर रुपमा प्रभावित भएकोप्रति म अत्यन्त संवदेनशील छु’ उनले भने, ‘उद्योग व्यवसाय क्षेत्रलाई यसस्थितिमा कसरी संवोधन गर्न सकिन्छ भन्ने बारे पनि छलफल भइरहेको छ ।’ यसबारे तत्काल गृहकार्य थाली उद्योग व्यवसायलार्य सहयोग गर्ने उनले बताए ।
उद्योग मन्त्रीले सुख्खा वन्दरगाहमा रहेका वस्तुहरु छुटाउन छिट्टै पहल हुने आश्वासन समेत दिए । त्यस्तै, निजी क्षेत्रलाई साथमा लिई उद्योग क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL