Logo

चाइनिज लसुनमा नेपाली आकर्षण, पाँच महिनामा चीनबाट साढे ५० करोड रुपैयाँ बढीको लसुन आयात

चाइनिज लसुनमा नेपाली आकर्षण, पाँच महिनामा चीनबाट साढे ५० करोड रुपैयाँ बढीको लसुन आयात



काठमाडौं । नेपालीहरुमा चाइनिज लसुनमा विशेष आकर्षण देखिएको छ । नेपाली भान्सामा मसलाका रुपमा रहेको लसुन आयातको पछिल्लो तथ्यांकले पनि चिनियाँ लसुनमा नेपालीको आकर्षण पुष्टि हुन्छ । चालु आवको ५ महिनामा चीनबाट धेरै आयात भएका वस्तुहरुमध्ये लसुन १० औं स्थानमा परेको छ ।

पछिल्लो समय उच्च खपत बढेको लसुनको आयात चालु आर्थिक बर्षको पहिलो ५ महिनामा गत आवको सोही अवधिको तुलनामा २८४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको पहिलो ५ महिना अर्थात साउन देखि मंसिरसम्म चीनबाट मात्रै ५० करोड ५३ लाख रुपैयाँ बराबरको लसुन आयात भएको छ । गत बर्षको सोही अवधिमा चीनबाट हुने लसुन आयात २७ दशमलव ८ प्रतिशतले घटेको थियो । उक्त समयमा चीनबाट करिव १३ करोड १५ लाख रुपैयाँ बराबरको लसुन आयात भएको थियो ।

यस अवधिमा चीनबाट जम्मा ७७ अर्ब ४६ करोड २३ लाख रुपैयाँ बराबरको मालसामान आयात भएको छ । कोरोना महामारीसँगै नेपालमा विभिन्न क्षेत्रबाट आउने वस्तुहरुमा प्रतिवन्ध लाग्दा चीनबाट आउने लसुनमा पनि प्रतिवन्ध लागेको थियो । तर चीनतर्फको नाका खुल्दा पहिलेदेखि रोकिराखिएको लसुन पनि एकैचोटी आउँदा लसुनको आयात बढेकोजस्तो देखिएको आयातकर्ताहरु बताउँछन् । एक आयातकर्ताका अनुसार चैतदेखि चीनतर्फको नाकामा रोकिएको लसुन भदौदेखि आउन थाल्दा आयात बढेको हो ।

भन्सार विभागका अनुसार यसअवधिमा चीनलगायत अन्य देशबाट ५० करोड ९८ लाख २५ हजार रुपैयाँ बराबरको ५१ लाख २७ हजार ४ सय २० किलो लसुन आयात भएको छ । नेपालमा हाल चीन, भारतलगायत अन्य मुलुकबाट पनि आउने गरेको छ । यसअवधिमा चीनबाट ५० करोड ५३ लाख रुपैयाँ बराबरको लसुन आयात हुँदा भारतलगायत अन्य देशबाट भने केही लाख रुपैयाँबराबरको मात्रै लसुन आयात भएको पाईएको हो ।

नेपालीको भान्छामा प्राय भारतीय भन्दा चिनियाँ लसुनको प्रयोग बढी हुने हुनाले चिनियाँ लसुनको आयात बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतीय लसुन सानो र केलाउन अप्ठ्यारो हुने गरेकाले ठुलो होटल तथा रेष्टुरेन्टहरुमा प्राय चीनकै लसुनको प्रयोग हुने गरेको छ ।

नेपालको आन्तरिक उत्पादनले नपुगेपछि नेपाली बजारमा विभिन्न देशको लसुन आईरहेको उनको भनाई छ । ‘नेपाली आन्तरिक खपतले नधान्ने भएपछि हामीले चीन भारतलगायत देशहरुबाट लसुनको आयात गर्छाैं,’ उनले भने, ‘तर यो बर्ष लकडाउनका कारण पनि लसुनको आयात बढेको हुन सक्ने अनुमान गरिएको छ ।’

हाल चाईनिज सुकेको लसुनमात्रै नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य कालिमाटी तरकारी बजारका अनुसार औसतमा १ सय ९५ रुपैयाँ पुगेको छ । विशेषरुपमा लसुनको प्रयोग खानाको स्वाद बढाउन गरिने भएपनि लसुन स्वास्थ्यका देष्टिकोणले पनि उपयोगी मानिन्छ । लसुनले मानव शरिरमा रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्नु र क्यान्सरलाई रोक्न सहयोग गर्नेलगायतका फाईदा रहेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL