Logo

स्वास्थ्यमन्त्री भन्छन-कोरोनाको खोप किन्नका लागि रकमको सुनिश्चितता भइसक्यो, अरु देशभन्दा हामी धेरै पछाडि हुँदैनौं

स्वास्थ्यमन्त्री भन्छन-कोरोनाको खोप किन्नका लागि रकमको सुनिश्चितता भइसक्यो, अरु देशभन्दा हामी धेरै पछाडि हुँदैनौं



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको भ्याक्सिन (खोप) खरिदका लागि रकमको सुनिश्चित भइसकेको बताएका छन् ।

खोप खरिदका लागि नीतिगत तयारी भइसकेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले अर्थ मन्त्रालयबाट रकमको सुनिश्चितता भइसकेको बताएका हुन् ।

सरकार कोरोना भाइरसको भ्याक्सिन (खोप) खरिदका लागि धेरै हदसम्म अगाडि बढिसकेको बताएका छन् ।

‘खोप खरिदका लागि आन्तरिक तयारी धेरै हदसम्म अगाडि बडिसकेको छ । जति सम्भावनाहरु छन्, सम्भावनाको खोजी गर्दै खोप ल्याउने अठोटका साथ सरकार अगाडि बढेको छ,’ सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘नीतिगतसँगै आर्थिक रुपमा पनि तयारी भएको छ । खोप किन्न अर्थ मन्त्रालयबाट रकम सुनिश्चित भइसकेको छ ।’

मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रिया पारदर्शी हुने पनि दाबी गरे । ‘कोरोना भाइरसविरुद्धको खोप खरिद पारदर्शी र वितरण न्यायपूर्ण हुने छ,’ मन्त्री त्रिपाठीले भने ।

खोप खरिदका लागि आफूले व्यक्तिगत पहल समेत बढाएको मन्त्री त्रिपाठीको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाले पछि कोरोनाको खोप खरिदकै विषयलाई प्राथमिकतामा राखेको मन्त्री त्रिपाठीले जिकिर गरे ।

‘खोप खरिदकै विषयमा मैले रुस, भारत र संयुक्त राष्ट्रसंघका राजदूतसँग भेटवार्ता गरेको छु,’ त्रिपाठीले भने, ‘अरु देशभन्दा हामी धेरै पछाडि हुने अवस्था छैन । नागरिकले खोप पाउँछन् । यो कुरामा आश्वस्त बनाउन चाहन्छु ।’

मन्त्री त्रिपाठीले क्योभाक्सबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपका लागि सुनिश्चितता प्राप्त भएको बताए ।

मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रियाबाट निजी क्षेत्रलाई टाढा नराखिने बताए । यद्यपि, पहिलो प्राथमिकता भने सरकार–सरकारबीचको समझदारीका आधारमा गरिने खरिदलाई दिइने बताए ।

मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थय स्वयम् सेवीलाई परिचालन गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL