काठमाडौं । तपाइँसँग कुनै नयाँ आइडिया छ र त्यसलाई अगाडि बढाउन सक्नुभएको छैन ? या तपाईको कुनै स्टार्टअप आइडिया छ र त्यसलाई लगानी वा स्केलअप गर्न अन्य सहयोग चाहिएको छ ? यदि यसो हो भने तपाईलाई अब धेरै सहज हुने छ । नेपालमा पछिल्लो ६ बर्षदेखि सेवा दिइरहेको आइडिया स्टुडियोले स्टार्टअपसम्बन्धी विभिन्न समस्याको हल गरिरहेको छ ।
हालसम्म नेपालका ६५ जिल्लाबाट १ हजार ९ सय ६३ आइडियाहरु कम्पनीमा आएकामध्ये १ सय २७ आइडियाहरुले ‘इन्कुबेट’ भइसकेका छन् । यस्तै हालसम्म कम्पनीबाट इन्कुबेट भएका ४० आइडियाहरु व्यवसायिक रुपमा बजारमा आइसकेको कम्पनीका संस्थापक अध्यक्ष डा. छिरिङ लामा बताउँछन् । नेपालभरका दूरदराजबाट आइडिया कलेक्सन गरी विभिन्न चरण पार गर्दै आइडियालाई उद्योगसम्म बदल्ने काम गर्छ आइडिया स्टुडियोले ।
सन् २००१४ मा पहिलो आइडिया जुम्लाबाट इमेलमार्फत आउँदा दंग परेका कम्पनीका संस्थापक लामाले त्यसपछिका दिनमा पछि फर्कनु परेन । बैंकर अनिल केशरी शाहसँगै आफैले आइडिया लिएर खोलिएको कम्पनीले हाल विभिन्न क्षेत्रका विभिन्न आइडियाहरुलाइ इन्कुबेट गरी व्यवसायमा परिवर्तन गरेको उनको दावी छ । कम्पनीले विभिन्न आइडियालाइ संकलनमात्रै नगरी आइडियालाई व्यवसायसम्म पुर्याउन आवश्यक कार्यालयदेखि लगानी गर्नेसम्मको वातावरणको सुविधा दिइरहेको छ ।
‘मेट्रो तरकारी’, ‘सजिलो मर्मत’लगायत बजारमा चलेका स्टार्टअप कम्पनीहरु आइडिया स्टुडियोकै सहयोगमा अघि बढेका हुन् । कम्पनीले हाल आफ्नो शाखा सातै प्रदेशका विभिन्न स्थानमा विस्तार गर्ने योजना बनाएको छ । जसमार्फत नेपालभरका आइडिया तथा स्टार्टअप सोचहरुलाइ उद्योगसम्मको हैसियतमा पुर्याउने काममा सहजता आउनेछ । यसका लागि कम्पनीले सबै प्रदेशमा आफ्नो कार्यालय बनाउने र सोही कार्यालयले नै आइडिया संकलन गरी इन्कुबेट गर्ने काम गर्नेछ ।
युनिसेफमा कार्यरत लामा कम्पनीसँग हाल काठमाडौं विश्वविद्यालय, विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ), राष्ट्रिय युवा परिषद नेपाल र मिटिङ पोइन्टले सहकार्य गरिरहेको बताउँछन् । आजभन्दा ६ बर्षअघिको समय सम्झँदै उनले भने, ‘नेपालमा केही गर्छु भन्नेलाइ कसैलै साथ दिँदैन, हामी पनि त्यसैको शिकार भएका थियौं ।’
कम्पनीले त्यही कुरालाइ मध्यनजर गर्दै केही गर्छु भन्नेहरुकै लागि कम्पनी खडा गरेको उनी बताउँछन् । कम्पनीले आफ्नै आइडियामा संचालित विभिन्न उद्यमहरुलाइ स्केलअप गर्न पनि सहयोग पुर्याउँदै आएको छ भने सञ्चालन गर्न अप्ठ्यारो अवस्थाका कम्पनीलाइ पनि सञ्चालनमा सहयोग पुर्याउँदै आएको छ ।
यस्तै कम्पनीले हाल विभिन्न बैंकहरुबाट स्टार्टअप कर्जा लिन कठिन हुने कुरालाइ मध्यनजर गर्दै आफ्नै छुट्टै कोषसमेत खडा गरेको छ । आइडिया इम्प्याक्ट इन्भेष्टमेन्ट फण्ड नाम दिइएको उक्त कोषमार्फत स्टार्टअप उद्यमीहरुले सजिलै कर्जा लिन पाउनेछन् । नेपालमा कुनैपनि किसिमको उद्यम गर्नेहरुका लागि बैंकले दिने कर्जाका लागि पुरा गर्नुपर्ने विभिन्न प्रक्रियाहरु र झन्झटलाइ ध्यानमा राख्दै कम्पनीले नै उक्त फण्डको अवधारणा ल्याएको उनले जानकारी दिए ।
हाल टेलिभिजन कार्यक्रम ‘आइडिया स्टुडियो सिजन–५’ सुरु भएको छ । विभिन्न युवाहरूका नयाँ आइडियासहित प्रतिस्पर्धामा सहभागी हुन कम्पनीले एक पत्रकार सम्मेलनको आयोजना गरी आग्रहसमेत गरिसकेको छ । सहभागिताका लागि आगामी ७ फेब्रुअरीसम्म आवेदन दिन सकिनेछ । यो बर्ष स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाइ फ्ल्याइङ र ग्रिनोभेसन गरी चार वटा सेगमेन्टमा विजनेस आइडिया प्रस्तुत गर्ने मौका दिने जनाएको छ । उत्कृष्ट आइडिया पेस गरी डिल राउण्डमा पुग्ने प्रतिस्पर्धीले नगद पाँच लाख रुपैयाँ व्यवसायका लागि सहयोगस्वरूप प्राप्त गर्नेछन् । साथै आइडिया स्टुडियोले सहभागी ३५ प्रतिस्पर्धीलाई व्यावसायिक प्रशिक्षणसमेत दिने कम्पनीका संस्थापक अध्यक्ष डा. छिरिङ लामाले बताए ।
आइडिया स्टुडियोको सिजन ४ मा २४ जना सिर्जनशील युवाहरूलाइ ४ वटा सेग्मेन्टमा विजनेस आइडियाहरू प्रस्तुत गर्ने मौका दिइएको थियो । डिल राउण्डअन्तर्गतका आइडिएटरहरू (आइडिया प्रस्तुत गर्नेहरू)लाई व्यावसायिक सहयोगको साथै व्यावसायिक प्रशिक्षण पनि दिइएको थियो ।
यसरी नेपालमा आइडियाको कमी छैन भन्ने देखाउन कम्पनीले हरेक बर्ष आइडिएटरहरुको प्रतिस्पर्धा पनि गराउने गरेको छ । कम्पनीले नेपालमा मात्रै अरुको फ्रेन्चाइज ल्याउने प्रवृत्ति विपरित आफ्नो फ्रेन्चाइज भारत र युरोपका देशहरुमा पनि पुर्याउन लागेको अध्यक्ष लामा बताउँछन् । भारतमा यसको स्थापना हुन लागेको र युरोपको एक देशमा अध्ययनका लागि जाने उनको योजना छ ।
नेपालमा विभिन्न सिजएनात्कम आइडियाहरु भएपनि त्यसलाइ व्यवसायीकरण गर्नका लागि सरकारी नीतिहरुले पनि उत्तिकै मात्रामा साथ दिनुपर्ने उनको धारणा छ । ‘कुनै मानिस ३० किलोमिटरको रफ्तारमा दौडिन खोज्दा सरकारले बाटोमा भएका काँडाहरु पन्छाइदिनुपर्ने हो,’ उनी भन्छन–‘तर नेपालमा काँडा पन्छाउनुको साटो काँडा ल्याएर हालिदिने प्रवृत्ति छ अर्थात विभिन्न कामका लागि नीतिनियमहरु बाधक बन्ने गरेका छन् ।’