Logo

मौसममा सुधारआएसँगै खुल्यो काठमाडौं उपत्यका, बिहानैदेखि झलमल्ल घाम लागेपछि राहत

मौसममा सुधारआएसँगै खुल्यो काठमाडौं उपत्यका, बिहानैदेखि झलमल्ल घाम लागेपछि राहत



काठमाडौं । आज रातिदेखि उपत्यकाको मौसममा सुधार भएको छ । बितेका दुइदिन धुलाम्मे जस्तो तुवाँलोले ढाकेर चीसो भएको शहरमा बिहानैदेखि झलमल्ल घाम लागेपछि राहत मिलेको छ । आइतबार र सोमबारको धुम्म मौसममा सुधार आएपछि देशभरको मौसमा बदली भएको छ ।  

धुलाम्मे तुवाँलो हटेर आकाश केही खुलेसँगै बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण घट्न थालेको छ । मंगलबार साँझदेखि हावाको गति केही बढेकाले प्रदूषण पनि कम हुँदै गएको मौसमविद् बरूण पौडेलले बताए । हावा चल्न थालेसँगै वायुमण्डलमा रहेका धुलोका कणहरु चलायमान भएकाले सोमबार र मंगलबारको तुलनामा प्रदूषण कम भएपनि जोखिम कायमै रहेको उनको भनाई छ ।

घाम लाग्न र हावाको गति बढ्न थालेपछि प्रदूषण घट्दै गएको बताउँदै मौसमविद् पौडेलले भने-‘जाडो महिनामा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषण कायमै रहन्छ, पूर्ण रूपमा हट्दैन ।’ काठमाडौं उपत्यकामा बिहान हुस्सु-कुहिरो लागेपनि दिउँसो घाम लाग्ने छ ।

जाडोमा वायुको गति कम हुने र हावामा आद्रता बढि हुँदा धुलोका कणहरु वायुमण्डलको तल्लो तहमै रहँदा प्रदूषण बढि हुने उनको भनाइ छ । पानी पर्दा वायुमण्डल सफा भएर केही राहत मिल्ने भएपनि तीन महिनादेखि पानी नपरेको पौडेलले बताए ।

सोमबार र मंगलबार काठमाडौं उपत्यकामा वायु प्रदूषणकोे स्तर खतराको तह माथि पुगेको थियो । वायु प्रदूषण अत्यधिकरुपमा बढेको भन्दै विशेष सावधानी अपनाउन सरकारले आग्रह गरिसकेको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति नै निकालेर विशेष सावधानी अपनाउन र अत्यावश्यक भनएसम्म घरबाहिर नजान अनुरोध गरेका हुन् ।

आइतबार बेलुकीदेखि बदली भएको देशभरको मौसम आजदेखि सुधार भएको भन्दै पौडेलले केही भूभागमा भने बदली हुने बताए। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने उनले बताए। पश्चिमी वायुको प्रभाव कम हुँदै गएपछि मौसममा सुधार भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL