Logo

३ वर्षमा बन्ने भनिएको ‘काठमाडौं भ्यूटावर’ ५ वर्षमा पनि बनेन, काम नगरेपनि अब १ बर्षभित्रमा तयार पार्ने ठेकेदारको दाबी

३ वर्षमा बन्ने भनिएको ‘काठमाडौं भ्यूटावर’ ५ वर्षमा पनि बनेन, काम नगरेपनि अब १ बर्षभित्रमा तयार पार्ने ठेकेदारको दाबी



काठमाडौं । काठमाडौं महानगरको शान बनाउने दाबीसहित निर्माण थालनी भएको काठमाडौं भ्यूटावर (दृश्यावलोकन स्तम्भ)ले अहिले शहरलाई नै गिज्याइरहेको छ । करिव ५ बर्ष अघि सम्झौता भएको काठमाडौं भ्यूटावरको निर्माण अहिलेसम्म पनि अघि बढन सकेको छैन् ।

देश संघीयतामा गएसँगै देशैभर भ्युटावर बनाउने ट्रेन्ड चलिरहँदा काठमाडौंको मुटु पुराना बसपार्कमा बन्ने भनेर निर्माण चथालनी भएको भ्युटावर भने ओझेलमा परेको छ । ।

विस २०७१ साल फागुन २२ गते ३ बर्षमा बनिसक्ने गरी सार्वजनिक निजी साझेदारी मोडलमा उक्त भ्यूटावर निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार २०७४ साल फागुनमै उक्त भ्यूटावर निर्माण भइसक्नुपर्ने हो । म्याद सकिए पनि काम नभएपछि पुनः पहिलेकै कम्पनीलाई भ्यूटावर निर्माण गर्न २०७४ भदौमा थप २ बर्षको म्याद थपियो ।

थपिएको म्याद आगामी बर्ष फागुनमा सकिने भएपनि अहिलेसम्म जमिनमुनिको काम मात्रै भएको काठमाडौं महानगरपालिका निजी साझेदारी महासाखाका एक अधिकारीले जानकारी दिए । थपिएको म्यादसम्म काठमाडौं महानगरपालिकाले ठेकेदार कम्पनीलाई केही भन्न नपाउने अर्थात पर्ख र हेरको रुपमा बस्नुपरेको अधिकारीले बिजखबरलाई बताए ।

उनका अनुसार भ्यूटावर निर्माणको जिम्मेवारी पाएको जलेश्वर, स्वच्छन्द विकोई कम्पनीले आगामी १ बर्षमा काम सम्पन्न गर्ने बाचा कामपालाई दिएको छ । ‘जगको काम सम्पन्न भएको र बाँकी काम एक बर्षमै सकाउने लक्षयसहित काम गरिरहेको भन्दै महानगरपालिकामा निर्माण कम्पनीले जानकारी दिएको छ,’ ति अधिकारीले भने, ‘म्याद सकिउन्जेलसम्म कामपाले केही भन्ने स्थान नरहेकाले आगामी १ बर्षको बाटो हेर्दैछौं ।’ तर, कम्पनीले गरेको कामको प्रगति र काम गराईले आगामी एक बर्षमा भ्यूटावर बन्न मुस्किल हुने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।

हालसम्म सम्झौताअनुरुपको म्याद बाँकी भएकाले महानगरपालिका पर्ख र हेरको अवस्थामा रहेको प्रवक्ता डंगोलले बताए । तर, म्याद नाघिसकेपछि महानगरपालिकाको बैठकले कम्पनीलाई नै जिम्मा दिने वा अर्को कम्पनी छनोट गर्नेबारे निर्णय गर्ने बताए ।

‘काठमाडौं भ्युटावर’ को नाम दिईएको उक्त व्यापारिक कम्प्लेक्स ३० वर्षसम्म निजी क्षेत्रले उपभोग गरेसँगै ३० बर्षपछि काठमाडौं महानगरपालिकाको अपनत्वमा हुनेछ ।

कम्पनीले ठेक्का सम्झौताअनुरुप वार्षिक ९८ लाख ३४ हजार रुपैयाँ महानगरमा बुझाउँदै आएको छ जुन भवन बनाउँदाको जग्गा भाडा हो । तर, भवन बनेपछि वार्षिक २ करोड ७० लाख रुपैयाँ भाडास्वरुप महानगरलाई दिने सम्झौतामा उल्लेख छ ।

विस २०६८ असार २६ को नगर परिषद बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसा क्षेत्रफलको पुरानो बसपार्कमा बहुतलीय बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय पारित गरेको थियो । त्यसै वर्ष चैतमा ठेक्का आह्वान भयो । विभिन्न आठ कम्पनीले टेन्डर हाले । सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने जलेश्वर, स्वच्छन्द र बिकोइ बिल्डर्स प्रालिले उक्त भ्युटावर निर्माणको ठेक्का पाएको थियो ।

महानगरपालिकाले सार्वजनिक–निजी साझेदारी मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता गरेपनि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा अग्लो भवन बनाउन नमिल्ने बतायो । २०७२ भदौमा महानगरले पनि १२ तले भवनकै नक्सा पास गर्यो । त्यसै वर्ष कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त भ्युटावरको शिलान्यास गरेका थिए ।

काठमाडौं महानगरपालिकाले साविकको बसपार्कलाई खुलामञ्चमा सारेको छ । उक्त खुलामञ्चमा भ्युटावर निर्माण कम्पनीले सटर बनाई भाडामा समेत लगाएको छ । जसको फाईदा कम्पनीले भ्युटावर निर्माण नहुन्जेलसम्म लिन पाउँछ ।

उक्त भ्युटावरमा दुईतले भूमिगत पार्किङ बनाईने बताईएको छ । जसमा ३ सय सवारी अटाउने क्षमता रहनेछ । जसको भुइँतलामा मोटरसाइकल पार्किङ, पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेक्स र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल बनाईने सम्झौतामा उल्लेख छ । यस्तै बैंक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय पनि उक्त भ्युटावरमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL