Logo

के फेरि लोडसेडिङ शुरु भएको हो ? यसो भन्छ विद्युत प्राधिकरण

के फेरि लोडसेडिङ शुरु भएको हो ? यसो भन्छ विद्युत प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अनौपचारिक रुपमा लोडसेडिङको घोषणा गरेको छ।यसअघि दैनिक विभिन्न समयमा बत्ती जाने गरे पनि बिहीबारदेखि भने प्राधिकरणले सूचना नै जारी गरी बत्ती कटौती हुनेबारे जानकारी दिएको छ। 

प्राधिकरणले आफ्नो वेबसाइटमार्फत् लोडसेडिङ हुने सूचना सार्वजनिक गरेको छ। बिहीबार प्रकाशित सूचनाअनुसार सो दिन बानेश्वर सबस्टेसनको लोड व्यवस्थापनका लागि लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर बिहान ९ बजेदेखि १० बजेसम्म बन्द हुनेछ। जसका कारण सो क्षेत्रमा सो समयमा विद्युत् कटौती हुनेछ। 

त्यस्तै हरिसिद्धि फिडर दिउँसो १२ बजेदेखि २ बजेसम्म र रेडियो नपाल फिडर दिउँसो १२ देखि ३ बजेसम्म सटडाउन गर्नुपर्ने भएकोले सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने पनि प्राधिकरणले जनाएको छ। 

विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले बानेश्वरको लोड व्यवस्थापनका लागि ती क्षेत्रको फिडर सटडाउन गर्नुपरेको बताए। उनका अनुसार पछिल्लो समय मागमा आएको वृद्धिका कारण ओभरलोड हुँदा लोड व्यवस्थापनका लागि विद्युत् कटौती गरिएको हो। 

‘बिना सूचना विद्युत् अवरोध गर्न नहुने कानुनी प्रावधानका कारण १६ गतेको लागि बानेश्वर क्षेत्रमा काम गर्ने भएकोले ती क्षेत्रको विद्युत् अवरोध गरिएको सूचना जारी गरिएको हो। यो लोडसेडिङको सूचना होइन,’ उनले भने। 

त्यस्तै अन्यत्र पनि लोड म्यानेजमेन्ट गर्नुपर्ने गर्नुपर्ने भएमा त्यसैगरी सूचना जारी गरी काम गरिने पनि प्रवक्ता तिमल्सिनाले जानकारी दिए। 

उनले भने, ‘लोडसेडिङ होइन, अहिले विद्युत् माग र आपूर्तिमा सन्तुलन भएकोले लोड म्यानेजमेन्ट तथा तारहरुको पनि म्यानेजमेन्ट गर्नुपर्ने भएको र लाइन नकाटी ती कामहरु गर्न नसकिने भएकोले विद्युत् अवरोध गरिएको हो।’ 

हाल नेपालमा १४५० मेगावाट माग भएको र सोहीअनुसार नै सप्लाइ भइरहेकोले लोडसेडिङ हुने कुनै सम्भावना नरहेको पनि प्राधिकरणले जनाएको छ। पछिल्लो समयमा चिसो बढ्न थालेसँगै विद्युतको मागमा पनि झण्डै डेढ सय मेगावाटले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL