Logo

पेट्रोलियम लिन नेपाली ट्याङ्कर भोली चीन जाँदै, केरुङ् नाकाबाट ल्याइने

पेट्रोलियम लिन नेपाली ट्याङ्कर भोली चीन जाँदै, केरुङ् नाकाबाट ल्याइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पेट्रोलिय पदार्थ लिनका लागि नेपाली ट्याङ्करहरु भोली चीन प्रस्थान गर्ने भएको छ । चीन सरकारले नेपाललाई अनुदानमा दिन लागेको पेट्रोलियम पदार्थ लिनका लागि नेपाली ट्याङ्कर भोली चीन जान लागेका हुन् ।

हाल ट्याङ्कहरु तयारी अवस्थामा रहेको र नेपालबाट भोली चीन प्रस्थान गर्ने नेपाल आयाल निगमका महाप्रवन्धक गोपालबहादुर खड्काले जानकारी दिए । ‘सवै ट्याङ्कर तयारी अवस्थामा रहेकाले भोली काठमाडौंबाट छुट्नेछन्,’ उनले भने, ‘हालका लागि केरुङ नाकाबाट ल्याउने भएकाले तत्काल लोड गरेर फर्कने छन् ।’

चीन सरकारले नेपाललाई १ हजार टन अर्थात १० लाख लिटर पेट्रोलिय पदार्थ अनुदान स्वरुप प्रदान गर्ने जानकारी गराएको थियो । सोही अनुरुप नेपाल आयाल निगमले उक्त पेट्रोलियम ल्याउन लागेको हो ।

यता सरकारी टोली पनि चीनबाट दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थ आपूर्तीका लागि सम्झौता गर्न चीनका लागि नेपाली राजदूत महेशमान मास्केको नेतृत्वमा चीनको जाँदैछन् । केही बेरमै उक्त टोली चीनको बेइजिङ प्रस्थान गर्नेछन् ।

राजदूत मास्केको नेतृत्वमा नेपाल आयल निमगमका निमित्त नायव प्रबन्ध निर्देशक सुशील भट्टराई र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरे,  अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव मधु मरासिनी र परराष्ट्र मन्त्रालयका सहसचिव भविन्द्र अर्याल रहेका छन् । उक्त टोलीले चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धी दीर्घकालीन सम्झौता गर्ने जानकारी दिएको छ ।

खड्काका अनुसार चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको पेट्रोलियम पदार्थ यूरो–४ मापदण्डको हुनेछ । हाल इन्डियन आयल कर्पोरेशनले नेपाललाई यूरो–३ मापदण्डको पेट्रोलियम उपलब्ध गराउँदै आएको छ । चीनबाट आयात गर्न लागिएको पेट्रोलियम पदार्थ भारतबाट आयात गरिनेभन्दा धेरै गुणस्तरिय हुने समेत निगमले जानकारी दिएको छ । जसले गर्दा बढी माइलेज दिनुका साथै सवारीसाधनको आयु समेत बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL