Logo

सवारी लाइसेन्सको अनलाइन आवेदन : अनलाइन आवेदनमा पनि विचौलियाको रजगज, बिहान ५ बजे नै हुन्छ कोटा पूरा

सवारी लाइसेन्सको अनलाइन आवेदन : अनलाइन आवेदनमा पनि विचौलियाको रजगज, बिहान ५ बजे नै हुन्छ कोटा पूरा



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदनमा पनि बिचौलियाको चलखेल देखिएको छ । करिव ९ महिनापछि मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुलेसँगै लाइसेन्स आवदेनको पर्खाईमा रहेका हजारौं सेवाग्राहीहरु खुसी भएपनि बिचौलियाका कारण सर्वसाधारण समस्यामा परेका छन् ।

यातायात व्यवस्था विभागले अनलाइन आवेदन भर्नका लागि दिएको सेवामै भएपछि सेवाग्राही मर्कामा परेका छन् । मंगलबारदेखि खुलेको अनलाइन आवेदन भर्न १० चोटी प्रयास गर्दा पनि भर्न नसकेर त्यत्तिकै रहेको बताउँछन् सामाखुसीमा बसोबास गर्दै आईरहेको कुर्मराज सिटौला । उनले हिजो बिहानैदेखि आफ्नै घरबाट अनलाइन फारम भर्न लागेका थिए । तर, १० औं पटकमा पनि नभएपछि उनले दिक्क मान्दै छोडे ।

‘मैले हिजो विहानैदेखि अनलाईन फारम भर्न लागे तर धेरै पटकको प्रयासपछि सबमिट बटनसम्म पुगियो,’ उनले भने, ‘सबमिट बटनसम्म पुगेर क्लिक गर्दा कोटा भरिएको नोटिफिकेसन आयो भर्नै छोडे ।’ उनले मंगलबार आफुले नै ढिलो भरे भन्ठानेर बुधबार बिहान ५ बजे नै आफ्नो ल्यापटप खोलेर पुनः अनलाइन फारम भर्न लागे । आज पनि त्यही समस्या बिहानै पाँचै बजे कोटा सकियो भनेर नोटिफिकेसन आयो ।

यातायात व्यवस्था विभागले दिएको सेवा प्रयोग गरेर दिक्क हुनेमा उनिमात्रै होईन गौशाला निवासी हरि अधिकारी पनि छन् । उनले बुधबार विहानैदेखि नै लाइसेन्सको अनलाईन आवेदन भर्न तम्सिएका थिए । तर, कहिले सर्भर डाउन भन्छ त कहिले जिल्ला, गाविसलगायत अपडेट हुन नमानेपछि उनले धेरैपटकको प्रयास पछि अनलाईन आवेदनको सबमिट बटनसम्म पुगे । तर, उनले पनि त्यही समस्या पाए कोटा भरिएको ।

यातायात व्यवस्था विभागले प्रतिदिन कति जनाको अनलाइन आवेदन दिन सक्ने भनेर कोटा तोकेको छैन । तर, सेवाग्राहीले धौधौ गरेर भरेको अनलाइन फारम सबमिट गर्नेबेला भने कोटा भरिएको सूचना आउँछ ।

यस्तै सबमिट बटनसम्म पुग्न पनि सेवाग्राहीले विभिन्न समस्या झेल्दै पुग्नुपर्छ । जस्तै फारम भर्दाभर्दै कहिले सर्भर डाउन भन्छ त कहिले डेट, लोकेशनलगायत अपडेट हुनै मान्दैन । सेवाग्राहीले एउटा अनलाइन फारम भर्न कम्तिमा १० पटकसम्म प्रयास गरेपछि पनि अन्तिममा कोटा भरिएको सूचना आउँदा सबै सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

यातायात व्यवस्था विभागले दिने सेवामा समस्याका कारण सेवाग्राही यातायात कार्यालयसम्मै धाउनुपर्ने व्यवस्थाको अन्त्य भएको देखिँदैन । नेपाल सरकार र विभिन्न निकायहरुले सरकारी सेवा लिनका लागि भन्दै सबै काम कारबाहीहरु अनलाइनबाटै दिने व्यवस्था गरेका छन् । तर, विभागको जस्तो सेवाका कारण पुरानै परम्पराको अन्त्य हुने छाँटकाँट देखिँदैन ।

तर यातायात व्यवस्था विभागका हाकिमदेखि पिएनसम्म विचौलियाको पछि लाग्दा अनलाईन आवेदनमा समेत समस्या देखिएको बताउँछन् यातायात व्यवस्था सुधार अभियन्ता रामबहादुर थापा । उनका अनुसार ट्रायल सेन्टरको विचौलियाको पछि यातायात व्यवस्था विभागका कर्मचारी देखि हाकिमसम्मै लाग्दा सेवाग्राहीहरुले यस्तो समस्या भोगिरहनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागको अनलाइन आवेदन सेवामा कोरोना महामारी अघि पनि यस्तै समस्या थियो । कहिले सर्भर डाउन हुने त कहिले केही । विभागका कर्मचारीहरु विचौलियासँग लाग्दा विभागले सर्भरमा समस्या पैदा गराई कोटा पूरा भएको सूचना जारी हुने जानकारहरु बताउँछन् । प्रत्येक दिन विहान ५ बजेअघि नै विचौलियाले आफ्ना मान्छे र नजिकका मान्छेहरुको आवेदन अघिल्लो दिनदेखि तयार पारी भोलिपल्ट विहानै सबमिट गरिन्छ र कोटा भरिएको नोटिफिकेसन सेवाग्राहीको स्क्रिनमा देखाईन्छ ।

सेवालाई प्रविधिमैत्री बनाउन सरकारले लाईसेन्सलाईसमेत स्मार्ट लाईसेन्समा परिवर्तन गरेको छ । विभागले हालसम्म १० लाख बढी स्मार्ट लाईसेन्स सेवाग्राहीका लागि वितरण गरिसकेको छ । अब बाँकी स्मार्ट लाईसेन्सका लागि आवेदन खुलेको हो । तर, अनलाईन आवेदन भर्न धेरै सकस हुने भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL