Logo

गुलियो महको अमिलो कथा : नेपाली महले बजार नधान्दा ४ महिनामा १४ करोडको मह आयात

गुलियो महको अमिलो कथा : नेपाली महले बजार नधान्दा ४ महिनामा १४ करोडको मह आयात



काठमाडौं । ‘मह’ नाम सुन्दै प्रायः सबैको मुख रसाउँछ । बहुगुणी भनिएको मह स्वास्थ्य र स्वादका हिसाबले पनि उपयोगिता बढ्दो छ । नेपालमा महको उपायोगिता बढ्दै गएपनि अस्पष्ट सरकारी नीति र सरकारी वेवास्ता कारण गुलियो मह देशको अर्थतन्त्रका लागि अमिलो बन्दै गएको छ । यसको पछिल्लो उदाहरण चालु आर्थिक बर्षको साउनदेखि मंसिरसम्म मात्रै १३ करोड ८५ लाख रुपैयाँबराबरको मह आयात भएको तथ्यांकबाट स्पष्ट हुन्छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिनाको तथ्यांकअनुसार नेपालमा विभिन्न देशहरुबाट मह आयात गर्नमात्र करीब १४ करोड रुपैयाँ बाहिरिएको छ । नेपालमा उत्पादित महले बजारमाग धान्न नसकेपछि स्विडेन, भारत, इजरायल, मेक्सिको, दुबईलगायतका देशहरुबाट महको आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुुसार यस अवधिमा नेपालबाट भने १९ लाख २५ हजार रुपैयाँबराबरको ६ सय ६५ किलो मह निर्यात भएको छ । हाल नेपालमा वार्षिक करिब २ हजार टन अर्थात् क्षमताको दश प्रतिशत मात्रै मह उत्पादन हुनेगरेको विभिन्न अध्ययनले देखाएको छ । बजारको माग पूर्ति गर्न चीन, बुल्गेरिया, मलेसिया, बेलायतबाट समेत मह नेपाल भित्रिन्छ ।

विस २०३२ सालदेखि सरकारले मौरीपालन कार्यक्रम सुरु गरे पनि अझै किसानहरू यसबाट आर्थिकरूपमा आत्मनिर्भर हुन नसक्दा नेपालको उत्पादनले नेपालकै खपत धान्न नसकेको मौरीपालक व्यवसायी सानुभाई बसेल बताउँछन् । नेपालमा पछिल्लो समय मौरी पालनमा कृषकहरुको आकर्षणर उच्च भएपनि देशमा पर्याप्त मौरी विज्ञको कमी भएकाले नेपालमा उत्पादित महले नेपालकै बजारमाग धान्न अप्ठ्यारो परेको उनको बुझाई छ ।

‘केही बर्ष अघिको तुलनामा पछिल्लो २ बर्षमा अत्याधिक मात्रामा मौरी पालनमा कृषकहरु आकर्षीत हुनु भएको छ,’ उनले भने, ‘तर भनेअनुरुप विज्ञ र आधुनिक तरिकाले पालन गर्न नसक्दा नेपाली बजारले विदेशी महको भर पर्नुपरेको छ ।’

महको प्रयोग पौष्टिक आहरका रुपमा, सांस्कृतिक चाडपर्वहरु र धार्मिक संस्कारमा प्रयोग हुने पञ्चमृत तथा मिष्ठान्न भोजनका साथै मानव शरीरमा लाग्ने कतिपय रोगको उपचारको लागि गर्ने गरिन्छ । रुघाखोकीको औषधीका लागि मात्रै पनि विश्वभरीमा २ सय टन भन्दा बढी महको प्रयोग भइरहेको तथ्य छ ।

चोटपटक लागेको, घाउ खटिरा भएको एवम् जलेको ठाउँमा लगाउन तथा ड्रेसिंङ गर्न पनि महको प्रयोग हुने गर्दछ । महले ढुसी र ब्याक्टेरिया जस्ता रोगका किटाणुहरूलाई नष्ट गर्ने हुँदा यसलाई एन्टिवायोटिक र एन्टिसेप्टिक (प्रतिजीबी)का रूपमा पनि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदिक औषधिहरू, मलमहरू तथा श्रृंगारका सामानहरूमा पनि महको प्रयोग हुने गर्दछ ।

नेपालमा लगानी नडुब्ने क्षेत्रका रुपमा मौरीपालन व्यवसाय चिनिएपनि यसको नीतिगत अस्पष्टताका कारण ठूलो लगानी हुन नसकेको बताउँछन् बरिष्ठ महविज्ञ डा सुरेन्द्र राज जोशी । ‘यसमा लागेका किसान पनि नीतिगत अस्पष्टता र अन्य समस्यामा परेका छन् । किसानले स–सानो लगानीमा थोरै–थोरै मह उत्पादन गरे पनि स्तरीय संकलकले ठूलो लगानी गर्नुपर्ने भएकाले यसमा राष्ट्रिय नीति आवश्यक रहेको छ’, जोशी भन्छन ।

प्रतिक्रिया दिनुहोस्