Logo

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने, अघिल्लो वर्षभन्दा चार हजार कम

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने, अघिल्लो वर्षभन्दा चार हजार कम



काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने भएको छ । 

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि ईपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको हो । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो ।

यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो । कोरियाले कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय भने गरेको छैन ।

सन् २०२० मा ५६ हजार कामदार ल्याउने कोटा भए पनि कोरोना महामारीका कारण ३० हजार ९ सय ९ जना अझै कोरिया गएका छैनन् । 

सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्