Logo

ठुलो आवाज निकाल्ने ३४२ मोटरसाईकल कारवाहीमा, मोटरसाईकललाई अनावश्यक मोडिफाई नगर्न निर्देशन

ठुलो आवाज निकाल्ने ३४२ मोटरसाईकल कारवाहीमा, मोटरसाईकललाई अनावश्यक मोडिफाई नगर्न निर्देशन



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अपरेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३ सय ४२ वटा मोटरसाईकलहरुलाई कारवाही गरेको जानकारी दिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले बताएको छ ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको हो ।

यस्ता गलत क्रियाकलाप गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै कुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराउनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL