Logo

कोरोनापछि जुर्मुराउँदै बजार, काठमाडौंका मुख्य व्यापारिक क्षेत्र पुरानो लय समात्दै

कोरोनापछि जुर्मुराउँदै बजार, काठमाडौंका मुख्य व्यापारिक क्षेत्र पुरानो लय समात्दै



काठमाडौं । विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण थला परेको बजारले पुनः गति लिन थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र १० देखि लागु गरुेको लकडाउन असार १ गतेदेखि खुकुलो पारेपनि बजारले भने भदौयता क्रमशः लय समातेको व्यवसायीहरु बताउँछन् ।

असार १ देखि विभिन्न शर्तसहित निश्चित व्यापार व्यवसाय सञ्चालनमा आएपनि प्रायः व्यापार व्यवसाय भने ठप्पप्राय थियो । देशभरि लकडाउन र निषेधाज्ञा तथा कोरोना संक्रमणको त्रासका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएपछि नेपालको समग्र व्यापार व्यवसाय ठप्प बनेको थियो । तर, असरदेखि खुकुलो बन्दै गएको लकडाउन र कोरोनाप्रति मानिसको त्रास कम हुँदै गएपछि भदौयता बजारमा चहलपहल बढ्नुका साथै व्यापारसमेत बढेको व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय काठमाडौं उपत्याकाका प्रमुख व्यापारिक क्षेत्रहरु न्यूरोड, पुतलीसडक, वानेश्वर, असन, ठमेल, कुपण्डोल, लगनखेलजस्ता क्षेत्रमा बढेको चहलपहलले पनि यसको पुष्टि गर्छ । दैनिक करोडौं रुपैयाँको कारोबार हुने यी क्षेत्रका व्यवसायी लकडाउन र निषेधाज्ञका कारण चर्को मारमा परेका थिए । महँगो भाडा, कर्मचारी खर्च, बैंकको ब्याज, तथा करोडौंको सामान स्टकमा रहँदा व्यवसायीहरु गम्भीर समस्यामा परेका थिए । ‘भाडा तिर्न धौधौ भयो, अब व्यापारै छाड्ने मनसाय बनाउँदैछौं’ भन्ने व्यापारीको अनुहारमा हाल चमक आएको छ ।

कोेरोना कहरपछि व्यापार पुरानै लयमा फर्किन लागेको न्यूरोडस्थित रञ्जना ट्रेड सेन्टरमा लेडिज रेडिमेडको होलसेल सञ्चालन गरिरहेका इजि वेयरका घनश्याम रेग्मीले बताए । अहिले नेपालभरकै व्यापार व्यवसाय राम्रैसँग संचालनमा आईसकेकाले पनि काठमाडौंको होलसेल मार्केटमा पनि व्यापार सुधारिएको उनको बुझाई छ । ‘लकडाउनका कारण भाडा, कर्मचारी तलब, बैंकको ब्याज गरेर बीसौं लाख रुपैयाँ घाटामा गइयो तर, अहिले यही रञ्जना ट्रेड सेन्टरमै रहेका करीब ४ सय पसलहरुको व्यापारमा नयाँ गति आएको छ । अब बिस्तारै पहिलेकै अवस्थामा आइपुग्ने अपेक्षा गरेका छौं’, रेग्मीले बताए ।

यता महाबौद्ध, गुच्चााटोल र असनलगायत होलसेल बजारको अवस्था पनि पुरानै लयमा फर्किँदै छ । पछिल्लो समय उक्त क्षेत्रमा पहिलेझै चहलपहल बढेको देख्न सकिन्छ । मुख्यत काठमाडौंको यो क्षेत्रबाट नेपालभर विशेष गरि रेडिमेड कपडा, जुत्ता तथा चाइनिज इलेक्ट्रोनिक्स सामान होलसेलमा नेपालका विभिन्न क्षेत्रमा पुग्ने गर्छ । जसका कारण उक्त क्षेत्रमा भारी बोकेर जीविकोपार्जन गर्ने मजदुरहरुले समेत पहिलेझै काम पाउन थालेका छन् । अहिले सबैजसो भरियाहरु नेपालका विभिन्न क्षेत्रहरुबाट होलसेल पसलमा आएको अर्डर प्याक गरेर ट्रान्सपोर्टसम्म पुर्याउन व्यस्त देखिन्छन् ।

असनमा रेडिमेड कपडा पसल सञ्चलन गरिरहेका एक व्यवसायीले भने –‘बजार खुलेसँगै अहिले होलसेल पसलदेखि, खुद्रा पसल, खाजा पसल, होटल, रेष्टुरेन्टहरुसमेतको व्यापारलवे गति लिएको छ । दशैतिहारताका पनि सबैभन्दा बढी व्यापार व्यवसाय हुने भएपनि प्राय ठप्प जस्तै थिए । तर, हाल मानिसहरुमा कोरोनाको डर हराईसकेकाले व्यापार राम्रै हुनेगरेको छ ।’

प्राय काठमाडौंका मुख्य क्षेत्रमा व्यापार गरिरहेका व्यवसायीहरु अहिले लकडाउन अघिको जस्तै व्यापार हुन थालेको बताउँछन् । ‘दशैमा नभएको व्यापारसमेत अहिले भएको अवस्था छ’, एक व्यवसायीले बिजखबरलाई बताए । केहीमहिना अघि नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार उद्योग व्यवासायहरु पुरानै लयमा फर्किन अझै ९ महिनासम्म लाग्नसक्ने निष्कर्ष निकालेको थियो । जसमा होटल रेष्टुरेन्ट क्षेत्रले मात्रै पुरानो लयमा फर्किन औसत १३ महिना लाग्ने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL