काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद संसद विघटनपछि थप पेचिलो बन्दै गएको छ । यसैक्रममा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
आज बसेको पार्टी केन्द्रीय समितिको बैठकमा २०७८ मङ्सिर २ देखि ७ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो । ओलीले राखेको प्रस्ताव बैठकले अनुमोदन गरेको छ । जसका लागि विधान संसोधन गरेरै आगामी मङ्सिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।
त्यस्तै आजको बैठकले ओली पक्षको नेकपामा ११९९ जनाको केन्द्रीय महाधिवेशन समिति विस्तार गर्ने निर्णय गरेको छ । साथै बैठकले परराष्ट्रमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीलाई ओली समूहको प्रवक्ता बनाउने निर्णय गरेको छ ।
यसअघि नेकपाको केन्द्रीय महाधिवेशन आगामी चैतमा गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । ओलीले संसद विघटन गरेसँगै विवाद चरमोत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड र ओलीले फरक फरक बैठक तथा भेलाहरु गरिरहेका छन् ।