Logo

१० प्रतिशतले आयात घट्दा १० प्रतिशतले नै बढ्यो निर्यात व्यापार, चामलको आयात ह्वात्तै बढ्यो

१० प्रतिशतले आयात घट्दा १० प्रतिशतले नै बढ्यो निर्यात व्यापार, चामलको आयात ह्वात्तै बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा आयात व्यापार १० दशमलव ६ प्रतिशतले घट्दा निर्यात व्यापार भने १० दशमलव ८ प्रतिशतले उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार ४ महिनामा ४० अर्ब २० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिमा भने २३ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँबराबरको मालवस्तु आयात गरेको छ । जुन गत बर्षको तुलनामा १० दशमलव ६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा भने नेपालले यस्तो आयात ६ दशमलव ९ प्रतिशतले घटाएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ४ महिनामा भारत तथा अन्य मुलुकमा क्रमशः १४ दशमलव ९ र ६ दशमलव ५ प्रतिशतले निर्यात व्यापार वृद्धि हुँदा चीनतर्फ भने ५९ दशमलव २ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालले अलैँची, जुटका सामान, धागो, चाउचाउलगायतको निर्यात बढाएको छ । यस्तै यस अवधिमा नेपालमा भारत, चीन तथा अन्य मुलुकबाट हुने आयात क्रमशः ३ दशमलव १, २५ र १९ दशमलव ८ प्रतिशतले घटेको छ । उक्त समयमा नेपालमा चामल, कच्चा सोयाविन तेल र दूरसंचारका सामग्रीको आयात उच्च रुपमा बढेको छ ।

यसअवधिमा पोहोरको तुलनमा चामलको आयात ११५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको पहिलो ४ महिनामा ६ अर्व ३० करोड रुपैयाँबराबरको चामल आयात भएकोमा यो बर्ष बढेर १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चामल आयात भएको हो ।

प्रतिक्रिया दिनुहोस्