Logo

डब्लुएचओले गरिब देशमा २०२१ को सुरूदेखि नै कोरोनाको खोप पठाउने, नेपालले पनि २० प्रतिशत जनताका लागि सित्तैमा खोप पाउने

डब्लुएचओले गरिब देशमा २०२१ को सुरूदेखि नै कोरोनाको खोप पठाउने, नेपालले पनि २० प्रतिशत जनताका लागि सित्तैमा खोप पाउने



जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरिब राष्ट्रहरूमा नयाँ बर्ष सन् २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप पठाउन थालिने जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने बताएका हुन् ।

उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन् । संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरूमा पनि सन् २०२१ को सुरू देखि नै खोप पठाइने छ ।’

अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए ।

नेपाल पनि कोभ्याक्सअन्तरगत खोप प्राप्त गर्ने देशकहरुको सूचीमा रहेको छ । कोभ्याक्समार्फत आउने खोप कूल जनसंख्याको २० प्रतिशतलाई पुग्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिइने बताएको छ । जसमा बाँकी ५२ प्रतिशत खोप सरकार–सरकार (जिटुजी), सार्वजनिक खरिदमार्फत ल्याउने तयारी सरकारको रहेको छ । बीस प्रतिशत जनसंख्यालाई पुग्ने खोपमध्ये पहिलो चरणमा कोभ्याक्समार्फत तीन प्रतिशतलाई खोप ल्याइने मन्त्रालयले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL