Logo

विद्युतीय तार भूमिगतको नाममा सडकमा भद्रगोल, किन गरिएन होरिजेन्टल ड्रिल मेशिनको प्रयोग ?

विद्युतीय तार भूमिगतको नाममा सडकमा भद्रगोल, किन गरिएन होरिजेन्टल ड्रिल मेशिनको प्रयोग ?



काठमाडौं । गत फागुन ५ गते प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको काठमाडौं उपत्यकामा विद्यतीय तार भूमिगत गर्ने कार्य हाल जारी छ । लकडाउनको अवधिमा पनि उल्लेख्य काम भएको उक्त परियोजनामा सम्झौता भएबमोजिम भने काम नहुँदा भने सडकमा विभिन्न समस्या उत्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले सडकलाई धेरै हानि नपुर्याई होरिजेन्टल ड्रिलिङ प्रविधिबाट तार अन्डरग्राउन्ड गर्नेगरी सम्झौता गरेको थियो ।

तर, हाल तार अन्डरग्राउन्डकै लागि सडकहरु धमाधम खनिदा सडक अवरुद्ध हुने क्रम बढेको छ । हाल रत्नपार्क, लाजिम्पाट, महाराजगंज, बुढानीलकण्ठ सडकमा विद्यतीय तार भूमिगतका लागि भन्दै सडक खनिदा समस्या देखिएको छ । दुईतर्फी नै विद्यतीय तार भूमिगतको लागि भन्दै सडक खनिएपछि यो खण्डमा लाजिम्पाटदेखि चक्रपथ उत्तरतिर सहित गंगालाल अस्पतालदेखि गणेशचोकसम्मको बाटो हाल दैनिक अवरुद्ध हुने गरेको छ ।

करीब २ हप्ता अघिदेखि खन्न थालिएको उक्त सडकखण्ड कहिले बन्छ टुंगो छैन । तर, हाल उक्त क्षेत्रको सडकमा सवारीसाधनहरुको लामै जाम हुने गरेको छ ।
पहिले यो खण्डमा विद्यतीय तार भूमिगत गर्न होरिजेन्टल ड्रिल मेशिनको उपयोग गरिएपनि अहिले भने पूरै सडक खनिएको अवस्था छ । होरिजेन्टल ड्रिलिङ भनेको निश्चित दुरीमा प्वाल पारेर बिचमा नखनेरै अर्थात नचलाएरै गरिने ड्रिलिङ हो । यसबाट समतल क्षेत्रमा वारपार टनेल बनाउन मद्धत पुग्दछ । खासगरी बढी जनघनत्व भएको र सडक क्षेत्रमा अन्डरग्राउन्डिङमार्फत ढलको पाईप, खानेपानीको पाईप र तार विछ्याउन यसको प्रयोग गरिन्छ ।

नेपालमा पनि पछिल्लो समय खानेपानी, ढललगायतको पाइप विछ्याउँदा सडक नै अस्तव्यस्त हुने गरेकोमा नेपाल विद्युत प्राधिकरणले भने सडकमा कम क्षति पुर्याएरै काम सम्पन्न गर्ने भन्दै होरिजेन्टल ड्रिलिङ प्रविधिबाट तार अन्डरग्राउन्ड गर्ने भनेको थियो । तर, उदघाटनको केही महिना तार अन्डरग्राउण्डिङ गर्ने काम होरिजेन्टल ड्रिलिङमार्फत भएपनि पुनः पुरानै ढर्रामा काम हुने गरेको छ ।

कतिपय स्थानमा जमिनमुनी ढल, खानेपानी, तारलगायत रहेकाले मेशिनबाट नहुने देखिएपछि सडक नै खन्न परेको परियोजना प्रमुख मनोज सिलवाल बताउँछन् । उनका अनुसार सबैजसो स्थानमा मेशिनको प्रयोग नहुने भएपछि सडक खनेरै तार विछ्याउन लागिएको हो ।

यता लाजिम्पाटको सांग्रिला होटलदेखि बुढानिलकण्ठ खण्डको आयोजना हेरिरहेको आयोजना प्रमुख अभिषेक अधिकारी भने अबको २ महिनाभित्र उक्त क्षेत्रमा तार अन्डरग्राउन्ड गर्ने काम सकिने बताउँछन् । प्रायः स्थानमा मेशिनबाट गरिएपनि कतिपय स्थानमा भने खनेर तार बिच्छ्याउने काम गरेपछि सोहीअनुसार सडकको मर्मतसमेत गरिने उनले जानकारी दिए ।

हाल चावहिल, लैनचौर, कोटेश्वर र महाराजगंज क्षेत्रमा तार विच्छ्याउने काम भइरहेको छ । विभिन्न क्षेत्रमा हुँदै गरेको तार अन्डरग्राउण्डिङपछि उपत्यकामा विद्युत जोखिमको न्यूनीकरणसँगै भरपर्दो सेवाको अपेक्षा गरिएको छ ।

विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । महाराजगञ्ज–रत्नपार्क र चाबहिल–कोटेश्वर दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुने बताईएको छ । विद्युत वितरण प्रणालीलाई पहिलोपटक भूमिगत गर्न लागिएको हो । यो सफल भएपछि अन्य सहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी छ ।

हाल नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा २ ओटा पाइप भने खाली नै राखेर काम अघि बढाईरहेको छ । आगामी दिनमा विद्युत प्राधिकरणको सबै तार जमिनमुनि गएपछि प्राधिकरणको पोलमा रहेका अन्य सेवाका तारहरुको विकल्पका लागि भन्दै उक्त २ ओटा पाईप खाली राखिएको अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL