Logo

वैदेशिक सहायता प्रतिबद्धता बढ्यो, चार महिनामा साढे ९० अर्ब सहयोगको प्रतिबद्धता

वैदेशिक सहायता प्रतिबद्धता बढ्यो, चार महिनामा साढे ९० अर्ब सहयोगको प्रतिबद्धता



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि भएको छ । अर्थमन्त्रालयका अनुसार पछिल्लो चार महिनामा ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ६७ करोड ५० लाख प्रतिबद्धता आएको थियो । कुल रकममध्ये १२ अर्ब ८३ करोड ५ लाख अनुदान सहायता र ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण सहायताको लागि प्रतिबद्धता आएको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म सडक तथा सुशासन क्षेत्रअन्तर्गत सबैभन्दा बढी ५४ अर्ब रुपैयाँ प्रतिबद्धता आएको हो ।

त्यसैगरी ऊर्जा क्षेत्र विकासको लागि २७ अर्ब ८७ करोड, स्वास्थ्य तथा कोभिड–१९ सहायताको लागि ४ अर्ब ७५ करोड, वन तथा वातावरणको क्षेत्रको लागि १ अर्ब ७५ करोड प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ।

त्यस्तै शिक्षा क्षेत्र सुधारको लागि १ अर्ब ६१ करोड र भूकम्पपछिको पुनर्निर्माणको लागि ६० करोड सहायता प्रतिबद्धता आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL