Logo

वैदेशिक लगानीमा कोभिड-१९को प्रभाव : ठूला उद्योगमा वैदेशिक लगानी ह्वात्तै घट्यो, समग्र लगानी भने सन्तोषजनक

वैदेशिक लगानीमा कोभिड-१९को प्रभाव : ठूला उद्योगमा वैदेशिक लगानी ह्वात्तै घट्यो, समग्र लगानी भने सन्तोषजनक



काठमाडौं । नेपालमा भित्रिने वैदेशिक लगानीमा पछिल्लो समय कोभिड-१९को प्रभाव देखिएको छ । पछिल्लो समय नेपालमा त्रित्रिएको वैदेशिक लगानी समग्रमा सन्तोषजनक देखिएपनि ठूला उद्योगमा आउने लगानी भने ह्वात्तै घटेको छ ।

उद्योग विभागका अनुसार चालू आर्थिक बर्ष २०७७-७८ को पहिलो ४ महिनामा वैदेशिक लगानीको एउटामात्रै ठूलो उद्योग दर्ता भएको छ । उद्योग विभागको पछिल्लो तथ्यांकलाई आधार मान्दा ३ अर्ब रुपैयाँ लगानीमा कास्की जिल्लामा होटल संचालनमा लागि उक्त उद्योग दर्ता भएको हो । ९० ओटा बेडको होटल र २ सय जना क्षमताको रेष्टुरेन्टसहित संचालन हुन लागेको उक्त होटल असोज १३ गते विभागमा दर्ता भएको हो । होटलले १ सय ४६ जनालाई रोजगारी दिने उल्लेख गरेको छ ।

तर, गत बर्ष भने वैदेशिक लगानीमा विभिन्न ९ ओटा ठूला उद्योगमार्फत लगानी भित्रिएको थियो । औद्योगिक व्यवसाय ऐन २०७३ ले २५ करोड बढी स्थिर पूँजी भएका उद्योगहरुलाई ठूला उद्योगको रुपमा परिभाषित गरिएको छ ।

सोहीअनुसार गत आर्थिक बर्ष २०७६÷७७ को पहिलो ४ महिनामा भने यस्ता ठूलो विदेशी लगानीका ९ उद्योग विभागमा दर्ता भएका थिए । चालु आवको सुरुवातदेखि नै विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ठूलो वैदेशिक लगानी खुम्चिएको विभागका निर्देशक तथा प्रवक्ता विनोद खड्का बताउँछन् । उनका अनुसार कोरोनाका कारण नै विदेशी लगानीकर्ताहरु हिँडडुल गर्न नपाउँदा लगानीको प्रतिवद्धतासमेत सोहीअनुसार खुम्चिएको हो ।

चालु आवको पहिलो ४ महिनामा कुल २१ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । जसमध्ये ठूलो लगानीको एक, मझौला उद्योग १ र अन्य साना लगानीका १ सय १६ उद्योग दर्ता भएका हुन् ।

साना लगानीका उद्योगहरुमा प्राय होटल रेष्टुरेन्ट क्षेत्रका उद्योग दर्ता भएका छन् । विभागका अनुसार चालू आवमा पर्यटन क्षेत्रमा मात्रै १४ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ ।

उक्त क्षेत्रका विभिन्न ६८ उद्योग संचालनका लागि उक्त प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार सेवा क्षेत्रमा पनि सोहीअनुसार लगानी भित्रिएको छ । चालु आवको पहिलो ४ महिनामा सेवा क्षेत्रका विभिन्न ३१ उद्योगमार्फत ५ अर्ब बढीको लगानी प्रतिवद्धता आएको हो ।

गत आर्थिक बर्षको पहिलो ४ महिनामा भने २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमै आएको विभागको तथ्यांकमा उल्लेख छ ।

गत आवको पहिलो ४ महिनामा पर्यटन क्षेत्रका विभिन्न ५६ उद्योगमार्फत ७ अर्ब ७ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको थियो । यस्तै उक्त अवधिमा सेवा क्षेत्रका विभिन्न ३८ उद्योगमार्फत ६ अर्ब २४ करोड ७० लाख रुपैयाँबराबरको लगानी प्रतिवद्धता आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL