Logo

सन् २०२४ देखि नाफामा जानेगरि निगमको १० वर्षे व्यवसायिक योजना, १० वर्षपछि वार्षिक ५ अर्ब बढी नाफाको प्रक्षेपण

सन् २०२४ देखि नाफामा जानेगरि निगमको १० वर्षे व्यवसायिक योजना, १० वर्षपछि वार्षिक ५ अर्ब बढी नाफाको प्रक्षेपण



काठमाडौं । नेपाल वायुसेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना तयार गरेको छ । निगमले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष पेश गरेको सो योजनामा सन् २०२४ देखि निगम नाफामा जाने उल्लेख गरिएको छ ।

घाटामा रहेको निगमलाई व्यावसायिकरुपमा सफल बनाउने गरि सन् २०२१ देखि २०३० सम्मको व्यावसायिक योजना तयार पारिएको हो । सो योजनामा निगम शुरुका तीन वर्ष नोक्सानै रहने भए पनि सन् २०२४ बाट नाफामा जाने र २०३० मा ५ अर्ब ३० करोड नाफा हुने प्रक्षेपण गरिएको छ । योजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

निगमले सो योजनाअनुसार २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, सांघाई, इन्डोनेसिया, रियादलगायत आठ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारो बडी चार र वाइड बडी दुई गरी छ वटा जहाज आवश्यक पर्ने जनाएको छ । त्यस्तै आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाडौं, नेपालगन्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सरकारको १५औं पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो व्यावसायिक योजना तयार पारिएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिए । निगमले तयार पारेको १० वर्षे एकीकृत व्यावसायिक योजना त्यहाँ भित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएमा सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने उनले बताए ।

देश व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले त्यस राजमार्गबाट दाँयाबाँया नगरी अहिले घाटामा रहेको निगमलाई व्यावसायिक रुपमा सफल बनाउनुपर्ने बताए । निगमका महाप्रबन्धक प्रकाश पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यावसायिक योजनाबारे जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL