Logo

नेपाल-भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठक, नेपालमा उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भारत सहमत

नेपाल-भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठक, नेपालमा उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भारत सहमत



काठमाडौं। कूटनीतिक पहल मार्फत नेपालमा उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रबार सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठकले उक्त निर्णय गरेको हो ।

सहमति अनुसार नेपालमा उत्पादित विद्युत् भारत र बङ्गलादेशसम्म पुर्याउनका लागि अत्यावश्यक सबै पहल गरिने भएको छ । त्यसका लागि बङ्गलादेशसँग समन्वयय गरेर शीघ्र परराष्ट्र मन्त्रालय मार्फत संयुक्त बैठकको आयोजना गरिने भएको छ । गत वर्षको असोजमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने सहमति भएको थियो । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट झण्डै १० हजार मेगावाट विद्युत लैजाने इच्छा व्यक्त गरेको छ । 

यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट समेत ५०० मेगावाट विद्युत लैजाने विषयमा सहमति भइसकेको छ । श्रव्यदृश्यका माध्यमबाट बैठक आयोजना भएकाले सहमति भएका विषयमा आज हस्ताक्षर भने भएको छैन । आवश्यक संयन्त्रमार्फत पत्राचार गरेर हस्ताक्षर गरिने बताइएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गरेका थिए । यस बैठकको तयारीस्वरुप हिजै सह–सचिवस्तरीय नेपाल–भारत संयुक्त कार्य समितिको बैठक सम्पन्न भएको थियो । 

यस्तै, भारत सरकारका ऊर्जा सचिव सञ्जीव नन्दन सहायका साथमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा विभिन्न मन्त्रालय तथा भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेड लगायतका भारत सरकारअन्तर्गतको सार्वजनिक निकायका अधिकारीसहितको १७ सदस्यीय टोलीको सहभागिता थियो ।

ऊर्जा मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त सञ्चालक समिति दुई देशका सरकारबीच ऊर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवं समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो । मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालका अनुसार बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरिएको थियो । दुवै पक्षबीच अन्य विषय लगायत नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल भएको थियो ।

दुई देशका ऊर्जा सचिवको छैठौँ पोखरा बैठकमा भएको सहमतिअनुसार नेपालको वर्षायामको विद्युत् भारत पठाएर इनर्जी बैंकिङ गर्ने विषयलाई समेत भारतले आफ्नो नीति तथा कार्यक्रममा राखेर आवश्यक निर्णय गर्न तयार भएको छ । सो प्रक्रिया अगाडि बढेको खण्डमा वर्षायाममा खेर जाने नेपालको विद्युत भारतीय बजारमा पुग्न सक्नेछ । 

यस्तै, सतजल विद्युत निगमले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रगतिको समीक्षा गर्दै सो परियोजनाको कार्यान्वयनलाई द्रूत गतिका साथ अगाडि बढाउने सहमति भएको छ । त्यस्तै, यस क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन् । फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको संयुक्त बैठकपछि यहाँस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ भने ४०० केभी क्षमताको गोरखपुर–बुटवल प्रसारण लाइनको वित्तीय मोडालिटिबारे पनि सहमति भइसकेको छ र अब चाँडै यस परियोजनाको निर्माण शुरु हुने दिशामा अगाडि बढेको छ । त्यस्तै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण उल्लेख्य रुपमा अघि बढेको छ । दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटिलाई छिट्टै अन्तिम रुप दिने सहमति समेत बैठकमा भएको छ ।

दुवै पक्षले दुई देशबीच ऊर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउने लगायत एकीकृत ग्रीडको विकास एवं विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण, नेपालको जलविद्युत तथा सौर्य ऊर्जा परियोजनामा लगानील गायतका प्रतिबद्धता दाहोर्याएका छन् । आजको बैठकमा भएको विस्तृत एवं सकारात्मक छलफलले भारत र नेपाल बीचको ऊर्जा सहकार्यलाई विस्तार गर्न थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस्
MBL