Logo

बीमा समितिले भन्यो : कोरोना बीमाको दावी भुक्तानी सबैले पाउनुहुन्छ, तर धैर्य गर्नुहोस

बीमा समितिले भन्यो : कोरोना बीमाको दावी भुक्तानी सबैले पाउनुहुन्छ, तर धैर्य गर्नुहोस



काठमाडौं । बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिले कोरोना बीमा दावी भुक्तानी पाउनका लागि केही धैर्य गर्नुपर्ने बताएको छ । बिहीबार एक सूचना जारी गर्दै समितिले कोरोना बीमा दावी भुक्तानीमा विधिगत ढिलाई हुने भएकाले नआत्तिन आग्रह गरेको हो ।

पछिल्लो समय कोरोना बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले आलटाल गरिरहेको गुनासो बढेपछि समितिले यसको छानविन गरेको थियो । जसअन्तर्गत कतिपय दावीको सम्पुर्ण कागजात नपुगेको, बीमा कम्पनीहरुले महालेखा परिक्षकको कार्यालयमा तथ्यांक पठाउन ढिलाई भएको, कागजात रुजु हुन ढिलाई भएकोलगायतका निष्कर्श निकालेको हो ।

समितिका अनुसार बीमालेख खरिद गरेका बीमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातहरु सहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पुरा भए नभएको यकिन गरी कागजात पुरा भएका फाइलहरु भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा पठाउनु पर्नेमा केही फाइलहरु कागजात पुरा गरेको नदेखिएकोले बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुमा दावी भुक्तानीमा सबै कागजात हेरी रुजू गरेर मात्र पठाउन निर्देशन गरिएको छ ।

यस्तै कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत हुने भएकोले यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने हुँदा कोरोना बीमा मापदण्ड अनुसार कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनुपर्ने भएकोले केही समय लाग्न हो ।

बीमाको सर्वमान्य सिद्धान्त अनुसार एउटै दाबी विभिन्न बीमा कम्पनीहरूबाट छुट्टा छुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बीमा दाबीहरू दोहोरो पर्ने भएकोले पनि भेरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लागेको समितिको निष्कर्श छ ।

यस्तै समितिले कोरोना महामारीका कारण सबैभन्दा बढ़ी गत असोज र कार्तिक महिनामा संक्रमण भएको र उक्त समयमा बीमा कम्पनीहरूमा कार्यरत कर्मचारी एवं बीमा समितिमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमण देखिएकोले उक्त महिनामा दाबी भुक्तानी प्रकृया अवरूद्ध भएको जनाएको छ ।

नेपाल सरकारको चालू आ.व. २०७७/०७८ को बजेट बक्तव्यमा कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने र राष्ट्रसेवक कर्मचारीहरुको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरेको थियो । सोही अनुसार देशमा स्थापित निर्जीवन बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनी बीच एक आपसमा बीमा पुल खड़ा गरी कोरोना बीमा मापदण्ड बनाई कोरोना बीमालेख बिक्री भइरहेको छ ।
समितिका अनुसार बीमा भनेको क्षति हुँदाको असल सारथी भएकोले सम्पूर्ण बीमित वर्गले दाबी भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कागजात पुरा भएका दावीहरु भने १७ हजार २ सय ३५ जनाको परेको समितिले जानकारी दिएको छ । जसमध्ये ४ हजार १ सय ५२ दावीलाई भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा पठाईएको छ । यस्तै विभागबाट हालसम्म २ हजार ४ सय ९३ दावी भेरिफिकेशन भएर आएका छन् । हालसम्म ८ हजार १ सय ४५ दावी भुक्तानी भएका छन् भने सबै कागजात पुरा भई भुक्तानी गर्न बाँकी दावीको संख्या ९ हजार ९० रहेको छ ।

यस्तै कागजात नपुगी पुनः निर्जीवन बीमा कम्पनीहरुमा फिर्ता भएको दाबी संख्या १ हजार १ सय ३६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL