काठमाडौं । चिनियाँ विशेषज्ञ टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिसकेको दैलेखमा थप अध्धयन अनुसन्धानमा कोरोना संक्रमणका कारण थप ढिलाई भएको छ । सरकारले दैलेखको शिरस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थको उत्खननका लागि चिनियाँ विशेषज्ञ टोली नेपाल आउने प्रतिक्षा गरिरहेको छ । कोरोना महामारी अगावै ४ महिना विभिन्न अध्धयन गरेर तथ्यांक संकलन गरी चीन गएको चिनियाँ भूगर्भविद्को टोली कोरोनाकै कारण नेपाल कहिले आउने टुंगो लाग्न सकेको छैन ।
तत्कालीन समयमा दुई महिनामै तथ्यांक विश्लेषण गरी तत्कालै ड्रिलिङको कार्य सुरु गर्ने भएपनि कोरोना कहरका कारण चिनियाँ विशेसज्ञको टोली चीनमै रोकिएपछि पेट्रोलियम पदार्थ उत्खनन पनि पछि धकेलिदैं गएको छ । चिनियाँ टोलीले लकडाउन अगावै संकलन गरेको तथ्यांको विश्लेषण नतिजापछि दैलेखको उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ के कति छ भन्ने पुष्टि हुने छ ।
अब कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनेसँगै चिनियाँ टोली पनि नेपाल चाँडो आउने सम्भावना रहेको खानी तथा भूगर्भ विभागका प्रवक्ता जनक चन्द बताउँछन् । पछिल्लो समय चीनमा कोरोना विरुद्धको भ्याक्सिन लगाउन थालिएकाले विषेशज्ञहरु पनि भ्याक्सिन लगाएर आउने विश्वास गरिएको उनले बताए ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार अन्वेषणमार्फत उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । तर, विस्तृत प्रतिवेदन नआईकन के कति छ भनेर भन्न नसकिने उनी बताउँछन् । ‘ दैलेखका उक्त स्थानमा पेट्रोलियम पदार्थ रहेको राम्रै सन्देश चिनियाँ टोलीबाटै पाएका छौं,’ उनले बिजखबरसँग भने, ‘तर, सर्भेको विस्तृत रिपोर्ट नआईकन ठोकुवा गरेरै भन्न सकिने अवस्था भने छैन ।’
उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएपनि कति रहेको छ र उत्खनन गर्दा फाईदा हुने नहुनेबारे यो अन्वेषणले स्पष्ट पार्ने बताइएको छ । विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र नेपालबीच उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने द्विपक्षीय सम्झौता भएको थियो । सम्झौतापछि चीनको नेशनल चाईना पेट्रोलियम कर्पोरेशन (एनसीपीसी) का विज्ञहरुले गत वर्ष लगातार ४ महिना उक्त क्षेत्रमा अन्वेषण गरेका थिए ।
खानी तथा भूगर्भ विभागअन्तरगत पेट्रोलियम अन्वेषण तथा प्रर्वद्धन केन्द्रका प्रमुख सुधीर रजौरेका अनुसार ४ महिनासम्म चिनियाँ विज्ञहरुले विभिन्न किसिमका अन्वेषणमार्फत तथ्यांक संकलन गरेका थिए । चिनियाँ टोलीका विज्ञहरुले हाल उक्त क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ कति छ, उत्खनन गर्दा फाइदा–वेफाइदा के हुन्छ लगायतका निष्कर्ष निकाल्ने भन्दै तथ्यांक विश्लेषणका लागि चीन फर्किएको थियो ।
चिनियाँ टोलीले उक्त क्षेत्रमा पेट्रोलियम पदार्थको क्षेत्र र परिमाणबारे थाहा पाउन ‘ड्रिलिङ’ गर्ने उपयुक्त ठाउँको खोजीका लागि ‘सेस्मिक सर्वे’ र ‘म्याग्नेटटेलिक सर्वे’ गरेको थियो । पेट्रोलियम पदार्थको परिमाण र क्षेत्र (पेट्रोलियम रिजर्भ वायर) पत्ता लगाउनका लागि सो क्षेत्रमा साढे चार किलोमिटर गहिराइसम्म ‘ड्रिलिङ’ समेत गरिएको थियो । ‘सेस्मिक सर्वे’मा जमिनमा भूकम्प उत्पन्न गरी कम्पन सेन्सर यन्त्रको रेकर्डमार्फत जमिनमुनिको बनावट थाहा पाइन्छ र ‘ड्रिलिङ’ गरिने उपयुक्त ठाउँको पत्ता लगाइन्छ ।
नेपालको चुरे पर्वतमाला क्षेत्रको भौगर्भिक इतिहास तथा भूगर्भसँग मिल्ने भारतको असाम र पाकिस्तानको पोतबार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको कारणले नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने प्रबल सम्भावना रहेको विज्ञहरु बताउँदै आएका छन् ।
चुरे पर्वतमाला क्षेत्रका अतिरिक्त दैलेखको शिरस्थान र नाभीस्थानमा लामो समयदेखि ग्यास निस्केर ज्वाला बलिरहेको अवस्था छ भने पादुकास्थानमा कच्चा तेल निस्कनुलाई नेपालको भूगर्भमा पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास रहेको प्रमाणका रूपमा लिन सकिन्छ ।
खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ स्थानमा ग्यास चुहावट देखिएको छ । सन् २०१६ मा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको प्रारम्भिक सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो ।
उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई दुई अर्ब रुपैयाँ सहयोगको घोषणासमेत गरेको थियो । सोही घोषणाअनुसार २३ अगस्ट, २०१७ मा सो सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो ।
यसअघि विसं २०४५ सालतिर मोरङको बाहुनीमा विस्तृत अन्वेषण भएको थियो । त्यस बेला सरकारले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् एउटा निजी विदेशी कम्पनीलाई उक्त अध्ययन गराएको थियो । त्यहाँ जमिनभित्र ३ हजार ५ सय मिटरसम्म छेडेर अध्ययन गरिएको थियो । तर, उक्त क्षेत्रमा औद्योगिक रूपमा उत्खनन गर्न सकिने मात्रामा पेट्रोलियम पदार्थ नपाइएकाले उक्त अन्वेषण बीचैमा स्थगित गरिएका थियो ।