Logo

डिएपी मलको कच्चापदार्थ फस्फोराइट नेपालमै उत्खनन् गरिँदै, स्याम्पल सर्भे अन्तिम चरणमा

डिएपी मलको कच्चापदार्थ फस्फोराइट नेपालमै उत्खनन् गरिँदै, स्याम्पल सर्भे अन्तिम चरणमा



काठमाडौं । सरकारले बैतडी जिल्लाका २ स्थानमा फस्फोराईट उत्खनन्को कार्य अघि बढाएको छ । डायामोनियम फोस्फेट (डिएपी) मलका लागि उपयुक्त फस्फोराईटको उत्खनन् प्रक्रिया खानी तथा भूगर्भ विभागले अघि बढाएको हो । नेपालमा पछिल्लो समय लगातार रासायनिक मलको अभाव भइरहँदा यसको उत्खनन्ले क आशा जगाएको छ ।

बैतडीको दोग्डाकेदार गाउँपालिका र पुरचौंदी नगरपालिकामा यसको उत्खननका लागि सर्भे गरिएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

विभागले यसको उत्खननका लागि उक्त २ क्षेत्रका विभिन्न स्थानमा ड्रिलिङ गरी स्याम्पल कलेक्सन गरेको छ । जसको हाल तथ्यांक विश्लेषण भईरहेको महानिर्देशक घिमिरेले बिजखबरलाई बताए । उनका अनुसार बैतडीका उक्त २ स्थानमा फस्फोराईटको संकेत देखिएकाले यसको उत्खनन् कार्यलाई तिव्र पारिएको हो ।

विभागले दशै अगाडिदेखि तिहारसम्म उक्त स्थानमा ड्रिलिङको कार्य गरेको थियो । जसमार्फत हाल २ सय ७० ओटा नमुना (स्याम्पल) जम्मा गरी विश्लेषण गर्ने काम भईरहेको छ ।

विभागले उक्त स्थानमा रहेको फस्फोराईटको गुणस्तर, ग्रेड, फिजिविलीटी, भण्डारलगायत पत्ता लगाउन स्याम्पल सर्भे गरेको हो । सर्भेको नतिजापश्चात सकेसम्म चाँडो उक्त क्षेत्रमा उत्खनन््को कार्य गरिने उनको भनाई छ । ‘हाल हामीले नेपालकै सरकारी र निजी ल्याबहरुमा स्याम्पल सर्भेको काम गरिरहेका छौं,’ उनले भने, ‘अब उक्त सर्भेबाट आएको नतिजाअनुसार हामीले उत्खनन्को काम अघि बढाउने छौं ।’

यस्तै विभागले उदयपुरमा म्याग्नेसाईटको उत्खनन्का लागिसमेत प्रक्रिया अघि बढाएको छ । म्याग्नेसाईट पनि खासगरी रसायनिक मलकै कच्चापदार्थको रुपमा प्रयोग गर्ने गरिन्छ । यसैका लागि भन्दै खानी तथा भुगर्भ विभागले उदयपुरमा यसको पूर्व अध्ययन गरिसकेको छ । जसका लागि विभागबाटै एक टोलीले केही दिनअघि पूर्वअध्ययन गरेर फर्किएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

कसरी बन्छ डिएपी मल ?

डिएपी मल उत्पादनका लागि एमोनिया, सल्फर र फस्फोराइटको आवश्यकता पर्दछ । १ टन डिएपी मल बनाउन १ दशमलव ५ टन फस्फोराईट चट्टान, शून्य दशमलव ४ टन सल्फर र शुन्य दशमलव २ टन एमोनियाको आवश्यक पर्दछ । यी सबै रसायनलाई प्रतिक्रिया गराएर ल्याबमा डिएपी मल तयारी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL