काठमाडौं । पछिल्लो एक अध्ययनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएपछि ६ महिनासम्म पुनः संक्रमण नहुने देखाएको छ ।
एक पटक शरीरमा बनिसकेको एन्टिबडीले भाइरसलाई नष्ट गर्न कम्तिमा ६ महिनासम्म सघाउने अध्ययनले देखाएको हो ।
अक्स्फर्ड यूनिभर्सिटीले गरेको एन्टिबढी परीक्षणबाट यस्तो निष्कर्ष सार्वजनिक भएको बीबीसीले उल्लेख गरेको छ । अक्स्फर्डले सञ्चालन गरेका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गरेको अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक भएको हो ।
अध्ययनका अनुसार शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना उति नै कम हुन्छ। एक पटक कोरोना संक्रमण भएपछि पुनः संक्रमणबाट जोगाउन एन्टिबढीले काम गर्छ । यसले पुनः कोरोना हुन जोगाउने अनुसन्धानकर्ताको भनाइ छ ।
यो अध्ययनका लागि अक्स्फर्ड यूनिभर्सिटीको स्वास्थ्य क्षेत्रका १२ हजार कर्मचारी सहभागी थिए । जसमध्ये ११ हजारमा कोभिड–१९ एन्टिबडी भएको पाइएको थियो।
शरीरमा भाइरसको संक्रमण हुँदा एन्टिबडी निर्माण हुन्छ । त्यसले भाइरसलाई कोषभित्र छिर्नबाट रोक्छ । परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड–१९ पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि हुने समूहमा ७६ जनामा एन्टिबडी नभएको पाइएको छ । ति तीन जनासमेत गम्भीर थिएनन् ।
सङ्क्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ । अहिले विश्वभर कोरोनाविरुद्धको खोपको परीक्षण भइराखेको छ । उक्त खोपले कोरोना भाइरसलाई निस्क्रिय पार्ने काम गर्छ ।