Logo

पर्वतको कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे, नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति

पर्वतको कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे, नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति



पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजार भित्रका मुख्य सडकहरुमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास कार्यालय मार्फत नगर क्षेत्रको बजार भित्रको झण्डै तीन किलोमिटर सडक खण्डमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको हो । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

नगरभित्रको तीन किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।

बजारक्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको छ । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे विच्छाउने काम अघि बढेको छ । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगे सडक विस्तार गरीएको छ ।

पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगरप्रमुख जोशीले बताए । “बजारका सबै सडकको न्यूनतम मापदण्ड अनुसार चौडा पार्ने काम सकियो”, उनले भने, “अहिले दोस्रो चरणका काममा अघि बढाएका छौ ।” शाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाईएको छ । तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सवै सडक आठ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ छ ।

सडकमा कालोपत्रे विच्छाउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडकहरु भने यस पटक छुटेका छन् । सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सवै सडकहरु यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताए । अहिले शिवालयचोकदेखि धनेश्वरचोक हुँदै प्रगति चोकबाट बडागाउँ र मैत्रीचोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको काम भैरहेको छ । बाँकी सडकहरुमा कालोपत्रे विच्छयाउने कार्यका लागि संघ र प्रदेश सरकारकासँग समन्वय भैरहेको समेत नगरप्रमुख जोशीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL