Logo

कोरोनाका कारण बेरोजगार बनेकालाई रोजगारी दिँदै महानगर, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह

कोरोनाका कारण बेरोजगार बनेकालाई रोजगारी दिँदै महानगर, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह



काठमाडौं ।  काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिनेसम्बन्धी सूचना जारी गर्दै वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई ‘जीवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि, २०७७’ बमोजिम रोजगारी दिने भएकाले आफू बसोवास गर्ने क्षेत्रको वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै शुक्रबार सूचना प्रकाशित गरेको छ । 

रोजगारीका लागि फाराम भर्नुपर्ने गरी फाराम महानगरको वेवसाइटमा राखिएको छ, जसमा आफ्नो परिचयसँगै, स्थायी र अस्थायी ठेगाना, उमेर, भाडामा बसेको हो भने घरधनीको नाम र सम्पर्क नम्बर तथा आश्रित परिवारको संख्या तथा सम्भव भए पहिलेको रोजगारदाताको विवरण पनि उल्लेख गर्न भनेको छ ।

महानगरपालिकाको सूचनामा काम गर्न नसक्नेलाई खानाको व्यवस्थाका लागि विभिन्न मानव सेवा आश्रम वा वडामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रूपमा काम गर्न नसक्ने महानगरवासीले महानगरपालिकाको सहकार्यमा सञ्चालित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध भएकाले त्यसका लागि पनि नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।

पहिले सार्वजनिक यातायात नचल्दा सार्वजनिक स्थानमा भोजन सेवा शुरू गरे पनि अहिले सार्वजनिक यातायातका कारण भीडभाड बढेको र स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समस्या भएकाले सार्वजनिक स्थानमा भोजन सेवा बन्द गरिएको महानगरले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL