Logo

तिहारमा विद्युत कटौती नहुने प्राधिकरणको दाबी, यसपटक पहिलेजस्तो लक्ष्मीपूजामा विद्युत खपत नहुने अनुमान

तिहारमा विद्युत कटौती नहुने प्राधिकरणको दाबी, यसपटक पहिलेजस्तो लक्ष्मीपूजामा विद्युत खपत नहुने अनुमान



काठमाडौं । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यसपटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने प्राधिकरणको अनुमान छ ।

तिहारका बेला विद्युत् आपूर्तिमा कमि नआउने र ग्राहकले अविछिन्न रुपमा विद्युत्को प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ । विगतका वर्षहरुको उद्योगधन्दा र कलकारखानासमेत सञ्चालन हुने गरेकाले विद्युत्को माग अत्याधिक हुने गरेको थियो ।

तर यस वर्ष कोरोना महामारीका कारण होटल तथा कलकारखानाहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले विद्युत्को चाप नरहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार अहिले दैनिक औसत माग प्रतिघण्टा एक हजार २५० मेगावाट रहेको छ । तर कोरोनाका कारण बन्द रहेका स्थानमा लक्ष्मी पूजालगायत तिहारका दिनमा थप विद्युत् खपत हुने छैन ।

पछिल्ला दिनमा राष्ट्रिय प्रशारण लाइनमा निजी क्षेत्रका आयोजनाबाट ४८० मेगावाट, प्राधिकरणका आफ्नै आयोजनाबाट ५२० मेगावाट र करिब ८० मेगावाट विद्युत् भारतबाट आयात हुने गरेको छ । पिक डिमाण्डको समयमा भने भारतबाट २५० मेगावाटसम्म आयात हुने गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL