Logo

ब्राजिलमा कोरोनाविरुद्धको खोप रोकिएपछि चिनियाँ कम्पनी सिनोभाक भन्छ-‘खोप सुरक्षित रहेको विषयमा आश्वस्त छौं’

ब्राजिलमा कोरोनाविरुद्धको खोप रोकिएपछि चिनियाँ कम्पनी सिनोभाक भन्छ-‘खोप सुरक्षित रहेको विषयमा आश्वस्त छौं’



काठमाडौं । ब्रजिलमा चीनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको एउटा खोपको परीक्षण स्थगित गरिएसँगै अहिले चिनियाँ खोपबारे विभिन्न प्रश्नहरु उठिरहेका छन् । गम्भीर किसिमको प्रतिकूल घटना देखा परेपछि त्यहाको स्वास्थ्यसम्बन्धी निकाय अन्भीसाले परीक्षण स्थगित गरेको हो ।

चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो । सिनोभाकले भने आफूहरू खोप सुरक्षित रहेको विषयमा आश्वस्त रहेको बताएको छ । उक्त कम्पनीले आप‍तकमलीन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरूलाई सो खोप दिइसकेको छ ।

अन्भीसाले सो घटना अक्टोबर २९ मा भएको बताए पनि थप विवरण सार्वजनिक गरेको छैन । बीबीसीका अनुसार एकजना स्वयंसेवकको मृत्यु भएसँगै परीक्षण स्थगित गरिएको बताइएको छ तर त्यो मृत्यु परीक्षणसँगै सम्बन्धित थियो वा थिएन भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।

परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै कोभासले स्थगित गर्ने निर्णय गर्नुअघि खोप परीक्षण कार्यक्रम सञ्चालन गरिरहेकासँग परामर्श नगरिएको बताएका छन् ।

सोमवार अन्भीसाले एउटा गम्भीर प्रतिकूल घटनाका पछि खोपको परीक्षण रोक्ने आदेश दिएको हो । तर के भएको हो भन्ने जानकारी भने उसले दिएको छैन । उक्त खोपको अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ तर ती दुवै देशमा परीक्षण स्थगित गरिएको छैन ।

इन्डोनेसियाको सरकारी बायो फार्मा कम्पनीले मङ्गलवार त्यहाँ सिनोभाकको खोपको परीक्षण सहज रूपमा अघि बढेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । कोभासले स्थानीय सञ्चारमाध्यमलाई परीक्षण एउटा मृत्युको घटनालाई जोडेर स्थगित गरिएको तर त्यो मृत्यु खोपसँग सम्बन्धित नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL