काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठलाई आफ्नै प्रदेश अर्थात वाग्तमीमा नैतिक संकट परेको छ । आफुले प्रतिनिधित्व गरेको वाग्मती प्रदेशका १६ जिल्ला नगर अध्यक्षमध्ये १२ ओटा जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल तथा जिल्ला नगर उपाध्यक्ष गुणनिधी तिवारीसहितको प्यानललाई एकछापे भोट हाल्ने उद्घोष गरेसँगै श्रेष्ठलाई नैतिक संकट परेको हो ।
महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर श्रेष्ठ तथा जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले जनकपुर पुगेर देशभरका अध्यक्षहरु उतारेर शक्ति प्रद्र्धशन गरिरहँदा वाग्मती प्रदेशका १२ जना जिल्ला अध्यक्षहरुले ढकाल प्यानललाई एकछापे भोट हाल्ने प्रतिवद्धता जाहेर गरेका हुन् । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादूर कार्कीले वाग्मती प्रदेश अन्तरगतका अध्यक्षहरुको एउटै प्यानललाई सम्पूर्ण मत हाल्ने गरी समन्वय गर्न आफ्नो संयोजकत्वमा समिति बनेको जानकारी दिँदै उक्त टीमले वरिष्ठ उपाध्यक्ष, जिल्ला उपाध्यक्ष लगायत सदस्यहरु सम्पूर्णमा चन्द्रप्रसाद ढकालको आधिकारीक टीमलाई भोट हाल्ने निर्णय गरेको बताए । ‘ढकाल प्यानलले जिल्ला नगरका सदस्यहरुको समेत टुङ्गो लगाएर हामीलाई आधिकारीक टीमको सूची उपलब्ध गराईदिनुपर्छ,’ जिल्ला दौडाहामा रहेको ढकाल प्यानलको वाग्मती प्रदेशका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘हामीसँग आवद्ध यस प्रदेशका सम्पूर्ण अध्यक्षहरुको भोट ढकाल प्यानललाई नै जाने छ ।’ साथै कार्यक्रममा उपस्थित सबै अध्यक्षहरुले बोल्ने क्रममा महासंघमा ढकाल प्यानलको विकल्प नरहेको समेत बताए थिए ।
सोमबार काठमाडौंमा भएको वाग्मती प्रदेशको भेटघाट कार्यक्रममा नुवाकोटका अध्यक्ष ताराबहादूर कार्की, धादिङका अध्यक्ष रुद्धबहादूर खत्री, काभ्रेका अध्यक्ष प्रकाश मानन्धर, ललितपुका अध्यक्ष कृष्णलाल मर्हजन, भक्तपुरका अध्यक्ष प्रदिप श्रेष्ठ, थाहानगरका अध्यक्ष कविराज खत्री, रामेछापका अध्यक्ष केशवप्रसाद घिमिरे, सिन्धुलीका अध्यक्ष अम्रेश वैदार, सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादूर श्रेष्ठसहितको छलफलले ढकाल प्यानलालाई भोट हाल्ने निर्णय गरेका हुन् ।
यसैगरी जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई वाग्मती प्रदेश अन्तरगतकै चितवन जिल्ला अध्यक्ष राजु श्रेष्ठ, रत्ननगर अध्यक्ष राजाराम रेग्मी र खैरेनी चितवनका अध्यक्ष चन्द्र सापकोटाले चितवनमा स्वागत गर्दै आफुहरुको सम्पूर्ण भोट ढकाल प्यानललाई नै हाल्ने निर्णय गरेका हुन् । साथै रसुवाका अध्यक्ष कैसाङ तामाङले समेत टीमलाई सहयोग गर्ने प्रतिवद्धा जाहेर गरेका छन् ।
जिल्ला दौडाहामा रहेको उक्त टीमका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विभिन्न स्थानमा भएको कार्यक्रममा जिल्ला अध्यक्षहरुको उपस्थिती तथा प्रतिवद्धता अनुरुप आफ्नो टीमको जीत सुश्चित भैसकेको भन्दै सोही अनुरुप अघि बढ्न आफ्ना टीमका सदस्यहरुलाई आग्रह गरेका थिए । साथै जिल्ला उद्योगी व्यवसायीहरुले आफ्नो टीममाथि धेरै भरोसा र आशा गरेको जानकारी दिँदै आफ्नौ टीम बिजयी भएर आएसँगै त्यसमा आँच आउने काम नगर्ने बताए । ‘सूदूरपश्चिमको धनगढीदेखि वाग्मती प्रदेशको काठमाडौंसम्म आईपुग्दा सबैजसो जिल्ला नगरका साथीहरुले नेतृत्वले फोन उठाएन, महासंघको साख खस्यिो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुबै समस्या तत्काल सम्बोधन हुनेछ ।’ साथै आफ्नो ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि हरेक क्षण खटिने समेत उनको भनाई थियो ।
यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए । ‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’ साथै उनले उपस्थित जिल्ला अध्यक्षहरुलाई वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल नेतृत्वको आफ्नौ टीमलाई जिताएर जिल्ला नगरका व्यवसायीहरुको हक अधिकार स्थापित गर्न समेत आग्रह गरेका थिए ।
यसैगरी कार्यत्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उचो पर्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए । ‘अहिले हामीसँग जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी २ दशकदेखि जिल्ला नगरकै साथीहरुको समस्यासँग जुध्दै आउनु भएको र चन्द्र ढकालको सानादेखि ठूला व्यवसायसम्म सफलरुप संचालन गर्दै ७७ वटै जिल्लामा आफ्ना व्यापार व्यवसाय फैलिएका कारण अबका दिनका यो टीमले सबैलाई समेटेर अघि बढ्नेछ ।’
कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रिय सदस्य डिवी वस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएका आफुले पनि समर्थन गर्दै अघि बढेको बताएका थिए ।