Logo

श्रम तथा उपभोक्ता हित समितिमा मेयर शाक्यको जवाफ- ‘काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न दिदैँन’

श्रम तथा उपभोक्ता हित समितिमा मेयर शाक्यको जवाफ- ‘काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न दिदैँन’



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र बस्ने कुनै पनि नागरिकले भोकै बस्नु नपर्ने बताएका छन्।

सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उनले यस्तो बताएका हुन्। काम गरिखानेहरुको लागि काठमाडौं सपनाको सहर भएको उनको दाबी छ।

‘सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको हो,’ शाक्यले भने, ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ। यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ। यो सबैको दायित्व पनि हो।’खुलामञ्चमा निशुल्क खाना खुवाएको सबैको सरोकारभित्र परेकाले त्यसलाई व्यवस्थापन गर्ने उनको भनाइ छ।

‘मेरो जानकारी अनुसार करीब आधा दर्जन संस्थाले त्यहाँ निशुल्क खाना खुवाइरहेका छन्।‘सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन। हामीले निशुल्क भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उहाँहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ,’ उनले भने,’ हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन। खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको समेत व्यवस्थापन गर्न तयार छौँ। तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो।’

खाना खुलाउनको लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनु पर्ने र चन्दा माग्नु पर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराए। श्रम गरी खानेहरूका लागि कुनै समस्या नभएकोले सबैलाई प्रोत्साहन गर्न उनले आग्रह गरे।

‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ,’ उनले भने, ‘हामी सबैसँग सहकार्य गरी अघि बढ्दै मागी खानु पर्ने वाध्यतामा रहेका महानगरवासिलाई व्यवस्थापन गर्न तयार छ।

’शाक्यले केही माननीयहरुले खुलामञ्चमा पुगेर गरेको आर्थिक सहयोगप्रति संकेत गर्दै भन्नुभयो– ‘गर्न नसक्नेलाई हामी हेर्छौ। त्यो राज्यको दायित्व भित्रै पर्छ । तर, गरि खान सक्नेलाई पनि खुलामञ्चमा पुगेर केही आर्थिक सहयोग गरी महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान हुदैन । सबै मिलौँ समस्या समाधानको उपायको खोजी गरौँ।‘

उनले केही सञ्चारमाध्यमले शीर्षक तोड मोड गर्दा आम नागरिकमा भ्रम पैदा हुने गरेको भन्दै त्यस्ता विषयमा सजग हुन र नागरिकलाई तथ्य सूचना प्रवाह गर्न आग्रह गरे। ‘सञ्चार माध्यम सबै भन्दा बढी जिम्मेवार हुनुपर्छ,’उनले भने, ‘बेलाबखत केही सञ्चारमाध्यमले शीर्षक तोड मोड गर्दा नागरिकमा भ्रम पैदा हुने गरेको छ । यस्तो विषयमा ख्याल गर्नुहोला ।’

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगरपालिका भित्र कुनै पनि संघ–संस्थाले समन्वय नगरी खुला स्थानमा निशुल्क खाना खुवाउने लगायतका गतिविधि गर्न नपाउने व्यवस्था गरेको भन्दै त्यहाँ समस्या नरहेको बताए।

कोभिडका बेला आफ्नो नगरपालिकाले गरेका गतिविधि बारे चासो राख्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले अहिलेसम्म स्थानीय तहले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताए।

सांसद भीमसेन दास प्रधानले समन्वयको अभावमा समस्या हुने गरेको भन्दै समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । उनले खुलामञ्चमा निशुल्क खाना खुवाउनेहरूलाई व्यवस्थापन गर्ने नाममा त्यत्तिकै छाड्न नमिल्ने भन्दै समन्वय गरेर स्थान तोकेर खाना खुवाउने व्यवस्था गर्न आग्रह गरे।

त्यसैगरी, सांसदहरु बिन्दा पाण्डे, अभिषेक प्रताप शाह, देवेन्द्र पौडेल, माया ज्ञवाली, सोमप्रसाद पाण्डे, एलपी साँवा लिम्बू, प्रकाश रसाइली, श्रम मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल लगायतले पनि कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरुको व्यवस्थापनका लागि मन्त्रालय र स्थानीय तहहरुले गरेका व्यवस्था, गर्नुपर्ने प्रयासलगायतका बारेमा मेयर हरुलाई सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL