नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा कडाई गरेको छ । निगमले बुधवारदेखि लागु हुने गरी नियन्त्रित विक्री वितरण प्रक्रियामा कडाई गरेको हो ।
पेट्रोलियम पदार्थको भण्डारण कम भएको भन्दै बुधवारदेखि निजी सवारी तथा ट्रिपर, ट्रक,मिनिट्रक र निर्माण सेवामा संलग्न कुनैपनि सवारीलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउने बताएको छ ।
त्यस्तै सार्वजनिक सवारी साधन तथा टुरिष्ट सेवामा सञ्चालित सवारीलाई जोर विजोर नम्बरलाई जोर विजोर गते अनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराउने निगमको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार माइक्रोलाई १५ लिटर, मिनिबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउन लागिएको हो ।
त्यस्तै अति आवश्यक ढुवानीमा संलग्न पिकअप,डेलिभरी भ्यानलाई जोर विजोर प्रणाली अनुसार १० लिटरका दरले पेट्रोलियम पदार्थवितरण गर्न लागेको छ । ‘यस्ता ढुवानीका साधनको हकमा रातो नम्बर प्लेटका सवारीलाई पनि तेल दिइने छ ’ विज्ञप्तिमा भनिएको छ ।
निगमले अति आवश्यक सेवा जस्तै दमकल ,एम्बुलेन्सलाई १० लिटरका दरले उपलब्ध गराउने बताएको छ ।
ट्याक्सिलाई प्रति हप्ता १० लिटरका दरले आइतवार र सोमबार मात्र जोर नम्बरलाई जोर गते र विजोर लाई विजोर गते तेल दिइने निगमले जानकारी दिए छ । त्यस्तै अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटर सञ्चालनका लागि जर्किन तथा ड्रममा सिमित परिमाणमा पेट्रोलियम पदार्थ प्रहरी कल्याण कोष पम्प,नक्साल र शक्ति देवी पेट्रोल सेन्टर,लगनखेलबाट उपलब्ध गराइने छ।
निगमले सरकारी र सार्वजनिक संस्थानका सवारी साधनहरुलाई प्रतिहप्ता मोटरसाइकललाई ३ र अन्य साधनलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराउन लागेको हो ।