रक्षा रेग्मी
देशमा ईटा उद्योगको लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको कोइला आयात हुने गरेको छ । पछिल्लो समय ईटा उद्योग बढेसँगै त्यसका लागि आवश्यक कोइला आयात हुने क्रम पनि बढेको हो । ‘देशमा भौतिक संरचना निर्माण हुने क्रम बढेको छ,’ नेपाल ईटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने, ‘भवन निर्माणका लागि ईटाको प्रयोग बढेसँगै त्यसका लागि प्रयोग गरिने कोइला खपत पनि बृद्धि भएको छ ।’
नेपालमा ईटाको खपत बार्षिक २० प्रतिशतका दरले बृद्धि हुँदै गएको नेपाल ईटा उद्योग महासंघले जानकारी दिएको छ । हाल नेपालका ईटा उद्योगले वार्षिक ३ अर्ब २० करोड पिस ईटा उत्पादन गर्दै आएका छन् । उक्त ईटा उत्पादनका लागि वार्षिक ४ लाख ५० हजार टन कोइला खपत हुँदै आएको छ ।
नेपालमै केही मात्रामा कोइला उत्पादन हुने भएपनि ईटा भट्टाका लागि उपयुक्त नहुने चित्रकार बताउँछन् । ‘ईटा भट्टाका लागि उच्च गुणस्तरका कोइला चाहिन्छ तर नेपालमा सोही अनुरुपमा कोइला उत्पादन हुँदैन,’ उनल भने ।
चित्रकारका अनुसार नेपालमा विशेषगरी भारतबाट कोइला आयात हुँदै आएको छ । केही मात्रामा इण्डोनेशिया र मलेशियाबाट पनि आयात गरिन्छ । हाल रसियाबाट पनि कोइला आयात गर्ने तयारी भइरहेको चित्राकारले जानकारी दिए ।
ईटा भट्टामा कोइलाको खपत कामदार र मौसममा भर पर्ने पर्दछ । वातावरणीय हिसावले ईटा भट्टाका लागि कोइला उपयोगी मानिन्छ । नेपालमा विशेषगरी मंसिरदेखि बैशाखसम्म बढी ईटा उत्पादन हुने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।
सुदुरपश्चिमका केही जिल्लामा भुसे भट्टा पनि सञ्चालनमा छन् । तर, त्यस्ता भट्टा वातावरणीय हिसावले अनुपयुक्त रहेको सम्बद्ध व्यवसायीहरु नै बताउँछन् । सरकारले पनि भुसे भट्टालाई निरुत्साहित गरेको छ ।
ईटा उद्योगको क्षमता बढाइदै
सरकारले पूर्ननिर्माणका लागि १२ अर्व ईटा आवश्यक पर्ने आँकडा निकालेपछि उद्योगीहरु नयाँ उद्योग थप्ने तयारीमा लागेका छन् । हाल सञ्चालनमा रहेका उद्योगबाट उत्पादित कोइललाले माग नधान्ने भन्दै उद्योग थप्ने तथा उद्योगको क्षमता बढाउन लागेका हुन । चित्रकारका अनुसार अनुसार हाल नेपालमा बार्षिक ३ अर्व ४ करोड कोइला उत्पादन हुँदै आएको छ । देशभर कुल ८ सय ५० उद्योग सञ्चालनमा छन् । त्यसमध्इे भुकम्पले ३ सय ५० वटा उद्योगमा क्षति पुर्याएको छ ।