Logo

धुलो धुवाँमा खाना खुआएकाले बन्द गर्न आग्रह गरेको हुँ : मेयर शाक्य

धुलो धुवाँमा खाना खुआएकाले बन्द गर्न आग्रह गरेको हुँ : मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् । केहीदिन अघि उनले यस्ता स्थानहरुमा निशुल्क खाना बाँड्न रोक लगाउने निर्णय गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो । यसपश्चात उनले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै धुलाधुवाँ र फोहोरमा खाना खुवाएकाले व्यवस्थित गर्न आग्रह गरेको बताएका छन् ।

मेयर शाक्यले फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाटै गुनासो आएकाले यस्तो निर्णय गरिएको बताए । ‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’ उनले भने । त्यसका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफ्नो मान्यता नभएको उनको भनाई थियो। सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने र उनीहरुकै कथा–व्यथा बेचेर काठमाडौं मागीखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामर्थ्य र सिपको आधारमा रोजगारी दिने उनले बताए । जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ अनुसार सातामा कम्तीमा दुई दिन ज्यालादारीमा सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास,सरसफाई तथा फोहोरमैला व्यवस्थापन लगायतका काम दिने उनले बताए । मेयर शाक्यले भने, कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही महानगरवासी हुनुहुन्छ भने आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्नुस्, भोकै बस्न नपर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध छ ।’

अहिले लकडाउन पनि नभएकाले सबैले समन्वय गरे समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था गर्न सकिने उनले बताए । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’ काठमाडौंका मेयर शाक्यले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्