Logo

किशोर प्यानलले उम्मेदवारी दर्ताको घोषणा गरेसँगै भाडभैलो, जिल्ला नगरका सदस्यहरुले आफ्नो नाम राखेको भन्दै जनाए आपत्ति

किशोर प्यानलले उम्मेदवारी दर्ताको घोषणा गरेसँगै भाडभैलो, जिल्ला नगरका सदस्यहरुले आफ्नो नाम राखेको भन्दै जनाए आपत्ति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले उपाध्यक्ष तथा सदस्यहरु सहितको टीम घोषणा गरेसँगै विरोध सुरु भएको छ । प्रधान प्यानलले आज लतिपुरको भिमान्त होटलमा उम्मेदवारी दर्ताको घोषणा गरेसँगै कतिपय सदस्यहरुले आफुहरुसँगै कुनै सल्लाह नै नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै विरोध जनाएका छन् ।

विशेषगरी जिल्ला नगरबाट उठ्ने सदस्यहरुले आफुसँग कुनै सल्लाह नै नगरी प्रधान प्यानलले आफ्नो नाम उम्मेदवारी दर्ताको लागि उद्घोष गरेको भन्दै विरोध जनाएका छन् । दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बिजखबरसँगको कुराकानीमा प्रधान प्यानलले विना कुनै सल्लाह वा सहमति वेगर आफ्नो नाम टीममा समावेश गरेको भन्दै विरोध जनाएका छन् । ‘म आफै दार्चुला उद्योग वाणिज्य संघको अध्यक्ष हुँ, म अहिले पनि दार्चुलामै छु,’ उनले भने, ‘मसँग कुनै सल्लाह नै गरी किशोर प्रधान प्यानलबाट जिल्ला नगर सदस्यमा कसरी मेरो नाम आयो म आफै अचम्मित छु यसमा मेरो विरोध छ ।’ साथै महासंघको आसन्न निर्वाचनमा सदस्य पदमा दार्चुलाबाट उम्मेदवार उठ्न वा नउठ्ने भन्ने विषयमा अहिलेसम्म कुनै टुङ्गो नलागेको समेत उनले जानकारी दिए ।

यसैगरी ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले पनि प्रधान प्यानलले आफ्नो नाम समावेश गरेको भन्दै आपत्ति जनाएका छन् । ‘म अहिले पनि ताप्लेजुङ्मै छु कसरी भयो प्रधान प्यानलबाट मेरो उम्मेदवारी दर्ता ?,’ बिजखबरसँग उनले भने, ‘म आफै २÷३ दिन जिल्ला नगरको तर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराउन काठमाडौं आउँदैछु तसर्थ प्रधान प्यानलबाट मेरो उम्मेदवारी दर्ता भन्दै नाम आउनु आपत्तिजन छ ।’ साथै हालसम्म उम्मेदवारी दर्ताका लागि प्रधान प्यानलले आफुसँग कुनै सल्लाह नै नगरेको समेत उनको भनाई थियो ।

यसैगरी सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष अशोक ताम्राकारले पनि किशोर प्रधान प्यानलले आफ्नो नाम राखेको भन्दै विरोध जनाएका छन् । ‘म चन्द्रप्रसाद ढकाललको प्यानलबाट उम्मेदवारी दर्ता गराउनका लागि बुधबार काठमाडौं आउँदैछु,’ बिजखबरसँग उनले भने, ‘कोसँग सल्लाह गरेर के आधारमा प्रधान प्यानलमा मेरो नाम राखियो म आफैलाई थाहा छै्न ।’

यसैगरी प्रधान प्यानलमा नाम राखिएको अन्य जिल्ला नगरका सदस्यहरुले पनि प्रधान प्यानलबाट आफ्नो नाम राखेको भन्दै विरोध जनाएका छन् । कतिपय सदस्यले लिखित रुपमै प्रधान प्यानलमा आफुहरु नरहेको जनाकारी दिन लागेको समेत सम्बद्ध स्रोतको दावी थियो ।

साथै आफ्नो टीम नै नपुग्ने भएपछि प्रधान प्यानलले जिल्ला नगरबाट धेरैजसो सदस्यको आफुखुशी नाम राखिदिएको समेत उक्त स्रोतको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL