Logo

भारतीय सेनाध्यक्ष नवर्णे कात्तिक १९ मा नेपाल आउने, प्रम ओलीसँग औपचारिक भेटको कार्यक्रम

भारतीय सेनाध्यक्ष नवर्णे कात्तिक १९ मा नेपाल आउने, प्रम ओलीसँग औपचारिक भेटको कार्यक्रम



काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाबीच एक अर्को देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्ने बताईएको छ ।

कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले बताए। भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL