Logo

प्रमुख जिल्ला अधिकारीले दशैंमा जिल्ला छोड्न नपाउने, यस्तो छ गृह मन्त्रालयको निर्देशन

प्रमुख जिल्ला अधिकारीले दशैंमा जिल्ला छोड्न नपाउने, यस्तो छ गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले कोरोना कहरको बीचमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंमा पनि जिल्ला छोड्न नपाउने भएका छन् । सोमबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जिल्लामा कोरोना सुरक्षाको व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले जिल्ला नछोड्न निर्देशन दिएको हो ।

नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्नरगराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा सावुन पानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्ने जस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको हुँदा कोभिड १९ को संक्रमण बढ्ने गरी अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छौं त्यहिं बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्नरगराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन, सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न, बजारमा आम नागरिकको अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालो वजारी, कृतिम अभाव, मिसावट, गुणस्तरहीन सामानको विक्री वितरण हुनरगर्न नदिनका लागि नियमित बजार अनुगमन गर्न तथा कानून विपरितका गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कानून बमोजिम कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । मन्त्रालयबाट दिइएको निर्देशन कार्यान्वयनको लागि २४ सै घण्टा निरन्तर समन्वय तथा अनुगमन हुने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्