काठमाडौं । हरेक वर्षझै यसपटक पनि नेपालीहरुको सबैभन्दा ठूला पर्वहरु दशैं–तिहारको मौसम शुरु भएको छ । दशैं तिहारसँगै हरेक व्यवसायका लागि पनि सुनौलो अवसर आउँछ । यसमा पनि लाखौं युवा विदेशमा रहेको नेपालमा रेमिट्यान्स अर्थतन्त्रको प्रमुख आधार स्तम्भको रुपमा रहेको छ । विदेशमा काम गर्ने नेपालीले वार्षिक रुपमा पठाउने खर्बौ रुपैयाँ रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलायमान भइरहन्छ ।
दशैं–तिहार नेपालीहरुले किनमेल गर्ने प्रमुख समय हो । जसका कारण बजारमा निकै चहलपहल हुने गर्छ । बिदेशमा रहेका नेपालीले दशैंतिहार किनमेलको लागि यो समयमा बिदेशबाट उल्लेखनीय रुपमा रेमिट्यान्स पठाउने गर्छन । जसलाई आफ्नो कम्पनीमार्फत आकर्षण गर्न हरेक वर्ष दशैंको समयमा रेमिटयान्स कम्पनीहरुले आकर्षक अफर ल्याउने गर्छन । यो वर्षपनि रेमिटयान्स कम्पनीहरुले आकर्षक अफर घोषणा गरेका छन् ।
नेपालको नम्बर एक रेमिटयान्स कमपनीका रुपमा रहेको आइएमई मनि ट्रान्सफरले यो वर्ष दशैं स्किम घोषणा नगरि बिदेशमा कोभिडबाट मृत्यु भएका नेपालीका परिवारलाई सहयोग पुर्याउन ‘आइएमई भरोसा कोष’ स्थापना गरेको छ । प्रभु मनि ट्रान्सफर, एनआइसी एसिया रेमिट, सिटी एक्सप्रेस, इसेवा, माछापुच्छ«े रेमिटले विभिन्न आकर्षक योजना ल्याएका छन् ।
प्रभु मनि ट्रान्सफरको चाडपर्व स्किम योजना
प्रभु मनि ट्रान्सफरले बडादशैंको अवसरमा ‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहार’ सँग नामक स्किम योजना ल्याएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रभु मनि ट्रान्सफरले यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने तथा प्राप्त गर्ने दुवै पक्ष लाभान्वित हुने जनाएको छ । यस स्किममा ग्राहकहरुले हरेक हप्त ३२ इन्चको टिभीसहित प्रभु टिभी सेटटप बस्स पाउने जनाइएको छ ।
साथै प्रभु क्यापिटलमा प्रभु बैंकको डि–म्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत मोबाइल वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको बार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पप्त गर्न सक्ने जनाइएको छ । यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागू हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।
एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउदा अर्को निःशुल्क
एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया रेमिट’ ले २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
उक्त विप्रेषण रकम बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १०,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिने बैंक्ले जनाएको छ । यो योजना आश्विन २० देखि मंसिर ५ गतेसम्म लागू हुने बैंकले जानकारी गराएको छ ।
‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ उपहार योजना
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं तिहार उपहार योजना ल्याएको छ । यसले ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ उपहार योजना ल्याएको हो । यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार १ जना विजेतालाई १० हजार दिइनेछ । कम्पनीका अनुसार यो अफर असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो योजनामा सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सबैले सहभागी हुन सक्छन् । विजेता छनौट विद्युतीय प्रणालीबाट गरिन्छ ।
इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक
इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज जित्न सकिन्छ । इसेवा मनि ट्रान्सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा सय बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागु हुनेछ ।
रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्सफरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ । हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाइ छ ।
भारतबाट माछापुच्छ्रे बैंकमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने
माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । चाडबाडको समयलाई लक्षित गरि मिति २०७७असोज १२ गतेदेखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्नेछन् ।
यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६०शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।
स्थापनाकाल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
सिटी एक्सप्रेस र अल फार्डन एक्सचेन्जको दशैं–तिहार बम्पर धमाका
सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबईस्थित अल फार्डन एक्सचेन्जको संयुक्त सहकार्यमा यसपालीको दशैं तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार बम्पर धमाका’ सार्वजनिक गरिएको छ । सो योजना अन्तर्गत दुबईको अल फार्डन एक्सचेन्जकाबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टिभी, माईक्रो वेभजस्ता घरेलु उपकरणदेखि ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्नेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
आइएमईद्वारा ‘भरोसा कोष’ स्थापना, कोभिडबाट विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग
कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ । कोषमा ०७६ पुस १६ देखि ०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने आफन्तहरूले आवश्यक विवरण सहित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् । यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने आइएमईले जनाएको छ ।
यसैबीच आईएमईले यसवर्षको चाडपर्व लक्षित कुनै स्किम नल्याएको जनाएको छ । कम्पनीले भनेको छ, ‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ । हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ ।’